Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

प्रा. डा. भगवान कोइराला

प्रा. डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । गंगालाल ह्दयरोग केन्द्र र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. कोइराला सरकारद्वारा गठित राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष पनि थिए । डा. कोइराला अहिले मनमोहन कार्डियोथेरासी एन्ड भास्कुलर सेन्टरमा कार्डियो थेरासिस एन्ड भास्कुलर सर्जन विभाग प्रमुखका रूपमा कार्यरत छन् । कोइरालासँग नेपालमा मुटुरोग, यसको अवस्था, उपचार पद्धतिलगायतका विषयमा गरेको संवाद

नेपालमा मुटुरोगको अवस्था कस्तो छ ?

गरिब देशहरूमा नसर्ने रोगहरूको प्रकोप बढ्दैछ । नेपालमै पनि मृत्युका कारणहरूमध्ये दुईतिहाइ मृत्यु नसर्ने रोगका कारण हुन्छ, जसमा पनि सबैभन्दा बढी मृत्युको कारण मुटुसम्बन्धी रोगबाट हुने गरेको छ । मुटुरोगमा ह्दयाघात, मुटुको भल्व बिग्रने, मुटु ड्यामेज हुने, जन्मजात मुटुको समस्या हुने धेरै थरीका समस्या हुन्छन् । मुटुका अन्य रोग पनि छन् । पश्चिमा देशमा जस्तो जीवनशैलीसँग सम्बन्धित मात्र नभएर अन्य इन्फेक्सनका कारण पनि मुटुको रोग लाग्ने गरेका छन् । यसले हामीलाई दोहोरो चुनौती दिएको छ ।

भनेपछि मुटुरोग ठूलै समस्याका रूपमा देखिँदै गएको छ ?

मुटुका रोगको हल्ला अफवाह होइन, यो समस्या नै हो । यसलाई नियन्त्रण गर्न र बचावटका लागि राष्ट्रिय, समुदाय र मध्यस्तरमा गर्नुपर्ने काम–कर्तव्य लागू नभएका हुन् । हामीकहाँ चलनचल्तीमा आएको ह्दयाघातको मात्र कुरा छ । यो जीवनशैलीसँग सम्बन्धित रोग हो र सहरी जीवनशैलीमा बढी देखिने हुँदा बढी हल्ला भएको हो । ग्रामीण क्षेत्रमा पनि ह्दयाघात नहुने होइन, तर त्योभन्दा ठूलो समस्या अन्य इन्फेक्सनबाट हुने मुटुसम्बन्धी रोगहरू बढी छन् ।

ह्दयाघात हुने कारण के–के हुन् ?

प्रमुख कारण त मानिसको अस्वस्थ जीवनशैली नै हो । त्यसबाहेक ह्दयाघात गराउने सम्भावना जेनेटिक पनि हुन्छ । बाबुबाजेदेखि नै जिनमा खराबी छ भने सम्भावना बढी हुने नै भयो । त्यसैगरी मधुमेह, कोलेस्ट्रोल बढ्ने समस्या पनि प्रायस् जेनेटिक नै हो, जसले चाँडै ह्दयाघात गराउन सक्छ । धूम्रपान तथा अल्कोहल सेवन गर्ने युवाहरूको संख्या बढ्दै गएको छ । सहरी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको धूवाँ–धूलो पनि ह्दयाघातको एउटा कारण हो । यी सबै कारणले ह्दयाघातको सम्भावना बढ्दै गएको हो । युवामा हुने ह्दयाघात अस्वस्थ जीवनशैलीसँग बढी जोडिएको छ ।

कस्तो जीवनशैलीले नेपालीको मुटु बिगारिरहेको छ ?

धूम्रपान, मद्यपान, अस्वस्थ खानपान, व्यायामको कमी, नियमित स्वास्थ्य परीक्षणको अभाव, अत्यधिक तनाव, आवश्यकताअनुसार नसुत्ने जस्ता कारणले नेपालीको मुटु बिग्रिरहेको छ । त्यसका साथै वातावरणीय प्रभाव, धूवाँ–धूलोको असर पनि अर्को कारणका रूपमा देखा परेको छ ।

यसलाई कसरी रोक्न सकिन्छ ?

मानिसको स्वास्थ्यभन्दा ठूलो कुरा केही होइन । जनता स्वस्थ भए भने मात्र राष्ट्र सबल हुन्छ । त्यसका लागि स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सुधारको खाँचो छ र सबैले आ–आफ्नो तह र तप्काबाट काम गर्नुपर्ने हुन्छ । अहिले स्थानीय सरकार गठन भैसकेको छ । स्थानीय तहले मानिसलाई रोगका बारेमा सचेतना जगाउनुपर्छ, व्यायाम गर्ने, दौडने जस्ता स्थानहरू उपलब्ध गराउने, पैदल यात्रुलाई हिँड्ने वातावरण बनाउने, सवारी साधनको प्रदूषण मापनलाई नियमित गराउनेजस्ता काम गर्नुपर्छ । धूवाँ–धूलो नियनत्रण गर्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ । यसमा धेरै ठूलो काम गर्नै पर्दैन, धूलोको समस्या समाधानका लागि नियमित पानी छर्कि्दिँदा हुन्छ भने सडक बढाउँदा सानो पेटी पनि निर्माण गर्नुपर्छ । यी समुदाय र स्थानीय स्तरमा गरिने काम हुन् ।

राष्ट्रिय तहमा कस्ता कामहरू गरिनुपर्छ ?

राष्ट्रिय तहमा नसर्ने रोग रोकथामका लागि कतिपय नीति छन्, कतिपय बन्ने प्रक्रियामा छन् र केही छलफलको प्रक्रियामा छन् । केही लागू पनि भएका छन् । मुटुको कुरा गर्ने हो भने नसर्ने रोगको कुरालाई नै प्राथमिकता दिनुपर्छ । धूम्रपानमा कडाइ गर्नुपर्छ । हामीसँग सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन छ, तर त्यहाँ तोकिएको मापदण्डअनुसार काम हुँदैन । एउटा चुरोटले खानेलाई मात्र नभएर सँगै भएको मानिस र परिवारका सबै सदस्यलाई असर गर्छ । ऐन–नियम बनाएर हल्लाखल्ला गर्ने तर त्यसलाई लागू नगर्ने परिपाटी हामीकहाँ छ । खास कुरा त नियम बनाएपछि त्यसलाई कार्वान्वयन गर्नुपर्ने हो । राष्ट्रिय स्तरबाटै मदिरा नियन्त्रणको पहल गर्नुपर्छ । मुटुको बाथको प्रमुख कारणका रूपमा रहेको टन्सिल बिग्रन नदिन सरकारले सचेतनामूलक कार्यक्रमका साथै बेलैमा त्यसको उपचार गरिनुपर्छ । विगतमा बाथमुटु रोगको सम्भावना भएका र भैसकेका बिरामीलाइ दिइँदै आएको पेनिसिलिन औषधी अहिले दिन छोडिएको छ । त्यो कार्यक्रम तत्काल पुनस् सुचारु गर्नुपर्छ, जसले गर्दा बालबालिकाको मुटुको भल्व फेर्नुपर्ने अवस्थासम्म पुग्न पर्दैन ।

भनेपछि स्वास्थ्य मन्त्रालयले कतिपय काम हचुवाका भरमा गरेको छ ?

कतिपय काम हचुवाका भरमा भएका छन्, यो सत्य हो । त्यसमा पनि प्रिभेन्सन पेनिसिलिनको कार्यक्रम थियो, त्यत्तिकै बन्द भयो । त्यसैगरी राष्ट्रिय रूपमा गर्नुपर्ने अरू कामहरू, प्रदूषण र धूवाँ नियन्त्रणमा कडाइ गर्नुपर्नेमा अहिलेसम्म त्यसमा ठोस प्रगति भएको छैन । के–के गरेर धूवाँ फाल्ने गाडीहरू पास हुन्छन् । बजारमा त्यस्ता गाडीहरू गुडेका गुड्यै छन्, यसमा कानुन लागू गर्नु पर्दैन ? हाम्रो श्वास फेर्ने अधिकार सुरक्षित हुनु पर्दैन ? नियम पनि छ, हाम्रो संविधानले दिएको अधिकार पनि हो, तर लागू गर्दैनन् ।

कस्ता खानेकुराले मुटुरोग बढाइरहेका हुन्छन् ?

स्कुल–स्कुलमा तयारी चाउचाउलगायत प्याकेजिङ गरिएका खानेकुरा प्रयोग भैरहेका हुन्छन् । धेरै नुन भएका खानेकुरा बिक्री भैरहेका छन्, तिनीहरू नियन्त्रण भैरहेका छैनन् । कर बढाएर हुन्छ कि कसरी हुन्छ, त्यस्ता खानेकुरालाई नियन्त्रण गर्नुपर्छ । यस्ता अन्य धेरै कुरा छन्, जसलाई राष्ट्रिय रूपमा लागू गर्न सकियो भने मुटुको स्वास्थ्यमाथिको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

नुनले पनि मानिसको स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको हुन्छ ?

नुनले मात्र लाखौं मानिसको ज्यान गैरहेको छ । नुन कम हुनेबित्तिकै रक्तचापको मात्र कम हुन्छ । रक्तचाप कम हुनेबित्तिकै ह्दयाघातको मात्रा कम हुन्छ । स्ट्रोक कम हुन्छ, मिगौला बिग्रने मात्रा कम हुन्छ । पहिले–पहिले गाउँमा भन्थे— काँचो नुन र काँचो चिनीले राम्रो गर्दैन बाबु । कुरा बुझ्दिनथें, विज्ञान पढेपछि बल्ल बुझें, त्यो एकदमै वैज्ञानिक भनाइ रहेछ । नुन र चिनी थपेर कहिल्यै नखानु, सकेसम्म अझ घटाउँदै जानु, पकाएको नुन पनि कम गर्नुपर्छ । किनभने यसले रक्तचाप बढाउँछ, रक्तचाप बढ्नेबित्तिकै मुटु र मिर्गौलाका अनेक समस्या निम्त्याउँछ ।

नुनलाई त सरकारले नै प्रवद्र्धन गरिरहेको छ नि ?

आयोडिनको कमीका कारण गलगाँडहरू भएकाहरूका लागि सरकारले त्यसको प्रवद्र्धन गरेको हो, तर त्यसको अर्थ धेरै खाऊ भनेको होइन, थोरै खाए पनि पुग्छ । राष्ट्रिय रूपमा गर्नुपर्ने कुराहरू पनि छन्, हामीले फोकस गर्नुपर्ने कुरा भने यिनै हुन् । त्यसपछि पनि बिरामी भएकाहरूको भल्व फेर्न, मुटुको उपचार निस्शुल्क गरिदिएको छ, यो सरकारले राम्रो गरेको हो । यसले समाजमा राम्रै प्रभाव पारिरहेको छ, बालबालिकाहरूलाई लामो समय बाँच्न सहयोग गरिरहेको छ । भल्व निस्शुल्क फेर्न पाइने भएकाले गरिबहरूले सानैमा उपचार पाउँदा खुसी र स्वस्थ जीवन जिउन पाउँछन् । सानै उमेरमा बढी गरिबलाई लाग्ने रोगहरूमा र लामो समयसम्म स्वस्थ राख्न सकिने उपचारमा चाहिँ बढी ध्यान दिनुपर्छ । यसका लागि न्यायोचित व्यवस्था गरिनुपर्छ ।

मुटुसम्बन्धी रोगहरू जाडोमा अलि बढी हुन्छन् भनिन्छ, के कारण होला ?

जाडोमा चिसो हुने भएकाले रक्तचाप बढ्ने टेन्डेन्सी हुन्छ, हाम्रा नसाहरू खुम्चिएका हुन्छन् । दम पनि जाडोमा बढ्छ । धेरै दबाब पर्ने र रक्तचाप बढ्ने हुनाले मुटुलाई पनि त्यसले असर गर्छ । त्यसैले जाडोमा बढी ह्दयाघात हुने ट्रेन्ड देखिएको हो, तर चिसोले रोग जन्मिने होइन । चिसोको असरले बढी व्यायाम गर्दा पनि वार्म–अप नगरी एकैपटक दौडँदा पनि रक्तचाप एकैपटक स्लोप गर्न नसक्ने हुन्छ, दम बढेर मुटुमा दबाब पर्ने हुन्छ । यस्ता कुरा जाडोमा अलिकति बढी देखिन्छ, तर रोग बढाउने होइन ।

दुई–तीन वर्षयता बिहान मर्निङ वाक नगर्नु भन्ने कुरा पनि आइरहेको छ नि ?

त्यसमा म धेरै टिप्पणी किन गर्दिनँ भने म वातावरण विज्ञ होइन । यसका पछाडिको कारण दिउँसो उडेको धूलो–धूवाँ जति छ, माथि चिसोमा रातभर सेटल भएर आउँदाखेरि भोलिपल्ट बिहानपख त्यसको तल्लो तहमा धूलो–धूवाँको डेन्सिटी बढ्दै जान्छ भन्ने तर्क छ, तर त्यस्तो धूलो–धूवाँको डरले नदौडनु ठीक कि दौडेर ह्दयाघातबाट बच्नु ठीक वा व्यायामको फाइदा लिनु ठीक ? त्यसैले धूवाको हानिकारक असर धेरै छ र व्यायामको फाइदा कम छ भन्या हो भने त नदौडनु ठीक, तर मलाई त्यस्तो लाग्दैन ।

एउटा सामान्य मानिसले एक दिनमा कति व्यायाम गर्नुपर्छ र मुटुको समस्या भएको व्यक्तिले कति गर्नुपर्छ ?

सामान्यतस् एक घण्टा गर्दा राम्रो हुन्छ, तर यति नै गर्नुपर्छ भन्ने फुर्मला छैन । मुटु स्वास्थ्यका हिसाबले हप्तामा कम्तीमा चार दिन ३० देखि ४५ मिनेट ‘ब्रिस्ट वाकिङ’ गर्नुपर्छ । त्यसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । फिटनेसका लागि म त दैनिक एक घण्टा ब्याडमिन्टन खेल्छु, तर त्यो आफ्नो क्षमता र समयअनुसार हो, योचाहिँ स्वस्थ रहनका लागि । मुटुरोगीहरूले चिकित्सकको सल्लाहअनुसार कति हदसम्मको व्यायाम कति मिनेटसम्म गर्न मिल्छ ? त्यो सल्लाहरपरामर्श लिएर त्यहीअनुसार गर्नुपर्छ, तर जस्तोसुकै मुटुरोग भएकालाई पनि हामीहरूले केही न केही व्यायाम गर्न नापेररजाँचेर सल्लाह दिन्छौं ।

जीवनशैलीमा के–के परिवर्तन आवश्यक छ ?

कि चिकित्सकहरूले दिएको सल्लाह पछ्याउनुपर्‍यो, कि त आफैंमा बुद्धि आउनुपर्‍यो । आफ्नो बुद्धि पनि आउँदैन, चिकित्सकले भनेको पनि मान्दैन, कुरा काटेको काट्यै छ, आफ्नो स्वास्थ्य पनि बिगारेको छ र राष्ट्रिय सम्पत्ति पनि सिध्याएको छ । अझ सरकारले निस्शुल्क गरेन भनेर सरकारलाई गाली पनि गर्‍या छ । आफूचाहिँ लापरवाही गर्ने अनि दोष अर्कोलाई लगाउने, नागरिक जिम्मेवार हुन नपर्ने ?

ह्दयाघातका लक्षणहरू के के हुन् ?

ह्दयाघातका विभिन्न लक्षण छन् । जस्तो— छाती दुख्ने, एकदम गाह्रो हुने, श्वास फेर्न पनि कठिन होलाजस्तो हुने, कहिलेकाहीं वाकवाक लाग्ने, दाँततिर पनि दुखेको सर्नेजस्ता कुराहरू हुन्छन् ।

सुरुवाती उपचार कसरी गर्ने ?

साँच्चै ह्दयाघात भयो भन्ने आशंका भयो भने विचार पुर्‍याउनुपर्छ । त्यसो भएमा एस्प्रिनको चारवटा चक्की चपाएर खाइदिनुपर्छ । त्यसबाहेक नआत्तिइकन नजिकको स्वास्थ्य केन्द्रमा गएर इसीजी गराइहाल्नुपर्छ । ह्दयाघात हो भनेर कुनै चिकित्सकले भनिहाल्यो भने सकेसम्म चाडै एन्जियोप्लास्टी गर्ने सेटअप भएको ठाउँमा पुग्नुपर्छ ।

सीपीआरको भूमिका के हुन्छ ?

सीपीआर (कृत्रिम रक्तसञ्चार प्रवाह गराउने प्रविधि) समुदायले सिक्नु आवश्यक भैसकेको छ । शिक्षक तथा सामान्य नागरिकले सिक्नुपर्‍यो । ह्दयाघात भएर मान्छे ढलेपछि तमासे भएर हेर्‍यो भने त्यो खुत्रुकै मर्छ । त्यतिबेला मुटु थिचेर श्वास फेराउने र कृत्रिम श्वास–प्रश्वास, कृत्रिम मुटु थिच्ने कुरा जम्मैले जान्नुपर्‍यो । यहाँ त अस्पतालमा समेत मान्छेलाई नलखेटीकन सीपीआर गर्न पनि चिकित्सकलाई गाह्रो छ । जुन कुरा समुदायले आफैंले जानेर गर्नुपर्ने हो । मान्छे ढल्यो भने घाँटी छाम्ने, नाडी छ कि छैन हेर्ने, श्वास फेरेको छ कि छैन हेर्ने, श्वास पनि फेर्दैन, नाडी पनि छैन भने कृत्रिम श्वास–प्रश्वास दिएर कृत्रिम रूपमा थिच्नुपर्छ । त्यसपछि अस्पतालतिर दौडाउनुपर्छ । यसो गर्दा बाँच्ने सम्भावना बढी हुन्छ ।

ह्दयाघात भएको मानिसलाई कति समयभित्र बचाउन सकिन्छ ?

जतिसक्यो त्यति चाँडो । त्यस्तो अवस्थामा मुटुको मसल्स (मासु) जति मिनेट ढिलो भयो त्यति ड्यामेज हुँदै जान्छ । त्यसैले जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन पाइयो र औषधी दिन सकियो भने बचाउन सकिने सम्भावना धेरै हुन्छ । घरमै ह्दयाघात हो भन्ने लागेको छ भने एस्प्रिनको चक्की चपाएर खाइदियो भने त्यसले ह्दयाघातमा धेरै फाइदा गर्छ । अरू ड्यामेज हुनबाट बचाउन मद्दत गर्छ ।
कान्तिपुर साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments