Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

खगेन्द्र नेउपपाने

अस्ति सुनें,
विश्व बैंकले
झण्डै आधा खर्ब रकम
दिने भएछ ।
धन्यवाद विश्व बैंक !
साधुवाद विश्व बैंक !

हो नि !
हाम्रा हाकिमहरु खुशी हुनु भा को छ
कतिका त घर बनाउनै बाँकी थियो
कतिका बनेका घरमा रङ लगाउनै बाँकी थियो
म्याडमको फर्माइसमा
बिदेशी डेस्टिनेसन धाउनै बाँकी थियो
थुप्रै बर्थ डे हरु मनाउनै बाँकी थियो
त्यसैले विश्व बैंक
तिमीलाई धेरै धेरै धन्यवाद छ ।

पोहोर पाएको पैसाले
थुप्रै विद्यालय सुधार भए
बालबालिकाको साटो
बाख्राहरु पो पढ्न स्कूल गए
सरहरुलाई तालिममा छोला ख्वाएर
घाम ताप्ने हाकिमले झोला भरे
किनकि वहाँहरुका नानी
विदेशमा पो पढ्छन् अरे
त्यसैले विश्व बैंक
फेरि पनि रकम दिनुभएकोमा
धेरै धेरै धन्यवाद छ ।

अगाडि ,
चिल्लो सडक बनाउन दिएको पैसा
चिल्ला गाडी पो किन्यौं हामीले त
किनकि
हाम्रा हाकिमका म्याडमहरु
सुघ्घरी हुनुहुन्छ
गहनाले भरि हुनुहुन्छ
यो देशको माटोले पोल्छ वहाँहरुलाई
यो शहरको धूलोले घोल्छ वहाँहरुलाई
त्यसैले यो दुख भोगाउनु हुन्न
जोगाउनु छ
हाम्रो मर्म बुझिदिएकोमा
धन्यवाद विश्व बैंक
साधुवाद विश्व बैंक ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments