Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १३ मंसिर २०८३ । बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ ।

आफूलाई हिरासतमा धम्की र यातनासहित उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन लगाइएको भन्दै सापकोटाका तर्फबाट शुक्रबार (मंसिर ११) आयोगमा उजुरी दिइएको थियो । उनका तर्फबाट जीवनरक्षाको माग गर्दै श्रीमती कविता पाण्डेले उजुरी दर्ता गराएकी हुन् ।

यस वर्ष असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूलाई पक्राउ गरी आँखामा पट्टी बाँधेर लगिएको उजुरीमा उल्लेख छ । हिरासत कक्षमा बयानका निम्ति यातना भोग्नुपरेको उनले बताएका छन् ।

आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने तयारी रहेको जानकारी दिए । “उजुरी प्राप्त भएको छ, यसमा गहिरो अनुसन्धानको तयारी छ,” उनले भने, “यो माथिल्लो लेवलको अनुसन्धान हो । अनुगमनभन्दा फरक हो । सोमबार ९मंसिर १४०बाटै अनुसन्धानको काम सुरु हुन्छ । आयोगको अनुसन्धानभित्र धेरै कुरा पर्दछन् ।”

नेपालको संविधानको धारा २४९ अनुसार, सरकारी निकाय, सुरक्षाकर्मी वा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो कर्तव्यपालना नगर्दा वा शक्ति दुरुपयोग गरी नागरिकको अधिकार हनन भएको अवस्थामा आयोगले छानबिन गर्न सक्छ । यसनिम्ति सरकारी हिरासत, कारागार वा अरू नियन्त्रण कक्षमा यातना वा दुर्व्यवहार भएको शंका लागेमा आकस्मिक निरीक्षण र अनुसन्धान गर्न पाउने संवैधानिक अधिकार आयोगलाई छ ।

विस्तृत अनुसन्धानभित्र स्थलगत अनुगमन, बयान लिने, उद्धारदेखि प्रमाण बुझ्नेसम्मका धेरै विषय पर्ने सहसचिव अधिकारीले बताए । “अनुसन्धानका क्रममा जे जे गर्न आवश्यक पर्छ, कानुनबमोजिम सबै कुरा गरेर विस्तृत प्रतिवेदन तय हुन्छ,” उनले भने, “आयोगबाट करिबकरिब अनुसन्धानको चरणमा पुग्यो भन्दा हुन्छ ।”

सापकोटाले प्रहरीले आफ्नो साथबाट बरामद गरेको मोबाइल समेत दुई दिनसम्म अरू अनधिकृत व्यक्तिलाई दिइएको र उनीहरूबाट षड्यन्त्र रचिएको जिकिर गरेका छन् । प्रहरीले भनेबमोजिम बयान दिन नमाने लामो समयसम्म जेल बस्ने गरी झुटा मुद्दा लगाउने, आफू र आफ्नो परिवारको जिउज्यानमै खतरामा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइएको उजुरीमा उल्लेख छ ।

“मलाई ९असोज० १४ देखि १५ गते साँझसम्म अज्ञातस्थलमा कालो पट्टी नै लगाएर राखेका थिए, सोधपुछ गरेका थिए,” उजुरीमा भनिएको छ, “सोधपुछका क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटेलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्विरुद्ध प्रमाण र बयान दिए छाडिदिने, नत्र म मात्र होइन, मेरो परिवारलाई समेत नराम्रो हुन्छ भनी धम्की दिइयो ।”

सापकोटाले जबर्जस्ती बयान गर्न दबाबसहित हिरासत कक्षभित्र दुर्व्यवहार र धम्की दिइएको आरोप लगाएका छन् । “कांग्रेसको आधिकारिकता विवाद, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको सेटिङजस्ता अडियोका सम्बन्धमा मैले मेरा आफन्तहरूबाट र पछि प्रहरीले थप बयानका क्रममा सुनाउँदा थाहा पाएँ,” उजुरीमा उल्लेख छ ।

उक्त उजुरीमा गरिएको दाबी र आधिकारिकताका विषयमा आयोगले स्वतन्त्र छानबिन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया