Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १३ मंसिर २०८३ । नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेर दुई लाख रुपैयाँ माग गर्ने पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका इन्द्रबहादुर भुजेल पाल्पाका धीरज रानाभाट, सिन्धुपोल्चोकका खेलबहादुर मगर र हर्कसिंह भोलान छन् । उनीहरूलाई काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही मंसिर १० गते उनीहरूले प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका निम्ति बोलाइएका एक युवकका भाइलाई आफूहरू इन्स्पेक्टर भएको भन्दै दुई लाख रुपैयाँ दिए छाड्ने बताएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

प्रहरी कार्यालयमा बोलाइएका युवकका भाइले रकम नदिएको र होटेलको बिल तिर्न पनि इन्कार गरेपछि उनीहरूले फोन तथा म्यासेजमा धम्की दिएको खुलेपश्चात् पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचजना विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । उनीहरू गुन्डागर्दी तथा लुटपाटमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया