झापा, १२ मंसिर २०८३ । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो ।
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले वार्षिक रूपमा कम्तीमा पाँच जना सदस्य रहेको परिवारलाई रु तीन हजार ५०० शुल्कबापत न्यूनतम रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य बिमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । यसमा ५३ हजार १४२ जना ज्येष्ठ नागरिक, १२८ जना कुष्ठरोग प्रभावित, ७४४ जना एचआइभी सङ्क्रमित, तीन हजार १९१ जना अपाङ्गता भएका व्यक्ति र ५९० जना महिला स्वास्थ्य स्वयंसेविका लगायत लक्षित तथा संवेदनशील वर्गसमेत समावेश छन् ।
बिमामार्फत निःशुल्क उपचार सेवा प्रवाह गर्न जिल्लामा पाँच वटा आँखा अस्पताल, सात वटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको प्रमुख कँडेलले जानकारी दिइन् ।
जिल्लाका १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिकामा कूल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध देखिएका छन् । दमकमा बसोबास गर्दै आएका भुटानी शरणार्थीसमेत बिमामा समेटिएकाले त्यहाँ आबद्धता दर अपेक्षाभन्दा बढी देखिएको हो ।
त्यसैगरी भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई पालिकामा बिमामा आबद्ध हुनेको प्रतिशत ९० भन्दा माथि छ । तर, सबैभन्दा कम झापा गाउँपालिकामा भने ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा आबद्ध छन् ।रासस






