Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं, १२ मंसिर २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू ‘झोला’बाट ‘फाइल’मा प्रवेश गरेको बताएका छन् ।

शनिबार (मंसिर १२) सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले अब झोला वितरण नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टीका कार्यक्रम, अधिवेशनरमहाधिवेशनमा झोलाको सट्टा ‘फाइल’ वा ‘डायरी’ प्रयोगमा ल्याउन थालिएको उनले बताएका हुन् ।

“झोलाबाट राजनीतिलाई बाहिर निकालेर एउटा फाइलमा अलिकति स्मार्ट तरिकाले ल्यापटप, आइप्याड अथवा प्याड जेजे छ, तपाईं राख्न पनि यसमा सक्नुहुन्छ भनेर यसो एउटा सानो प्रयास गरौँ भनेर हामीले झोला त्याग्यौँ,” उनले भने ।

राजनीति गर्ने मान्छेलाई ‘झोले’ भनेर व्यंग्य गर्ने गरिएको उनले बताए । “जो मानिस कुनै राजनीतिक दलमा लाग्यो, त्यसलाई तत् तत् पार्टीको झोले भनेर मानिसहरूले आलोचना गर्ने, विरोध गर्ने अथवा अपमानित गर्ने चलन वर्षौंदेखि चल्दै आएको थियो,” उनले भने, “हामी अस्तित्वमा रहनुभन्दा पहिला रास्वपाका रूपमा पनि कसैलाई कांग्रेसको झोले भनिन्थ्यो, कसैलाई एमालेको झोले, कसैलाई माओवादीको झोले, जसपा, लोसपा केके हो केके, भएभरका दल सबका झोले भनेर भनिन्थ्यो ।”

पछिल्लो समय रास्वपाका कार्यकर्तालाई पनि झोले भन्न थालिएको उनले उल्लेख गरे । रास्वपाका नेता–कार्यकर्तालाई त अझ ‘खराने’, ‘घण्टे’ भन्ने गरिएको भन्दै उनले ठट्टा गरे ।

“अचेल रास्वपाका झोले पनि भन्न थालियो होला । हामीलाई भन्ने शब्द त अलि फरक छ फेरि– खराने, घण्टे,” उनले भने, “कम्तीमा झोलेबाट त हामी बाहिर निस्केका छौँ, झोलेबाट बाहिर निस्किए पनि त्यो झोलेभन्दा पनि नमिठो शब्द आयो फेरि अब हेर्नुस् ”

कुनै पनि राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श, नेतृत्व, नेता, नीति, कार्यक्रम मन परेर मान्छे राजनीतिमा लाग्ने उनले बताए । तर, यही आधारमा पार्टीमा लागेकैले होच्याउन विरोधीहरूले विभिन्न शब्दको प्रयोग गर्ने गरेको उनको भनाइ थियो ।

“आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले,” उनले भने ।

प्रशिक्षण कार्यक्रम, अधिवेशनरमहाधिवेशनमा झोला दिइने र त्यो बोकेर हिँडेपछि त्यहीअनुसार झोले देखिने र भन्ने गरिएको आफूले ठानेको उनले बताए । “अनि मैले सोचेँ, यो झोलाको युगबाट त बाहिर निस्किन पर्‍यो । अब यो झोलासोला छोडेर अब हामी अलिकति फरक ढंगले जाऊँ ।”

त्यही कारण आफूहरू ‘फाइल’मा प्रवेश गरेको उनले बताए । त्यो फाइल वा डायरीभित्र जनताका मुद्दा, गुनासा अटाउनुपर्ने उनको भनाइ थियो ।

तर, त्यो फाइल महँगो पर्ने अवस्थामा सक्नेले आफैँ किन्ने र नसक्नेलाई अरूले सहयोग गरिदिनुपर्नेमा उनले जोड दिए । “अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किन्दिने अभियान सुरु गरौँ,” उनले भने ।

आफूहरूले रास्वपालाई ‘झोले युग’बाट बाहिर निकालेको उनले घोषणा पनि गरे । “आज सहभागीहरूलाई झोला नदिनुहोला । झोलाबाट फाइलमा प्रवेश गरौँ । कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौँ,” उनले भने, “घण्टे र खराने युगबाट नि निकालौँला १ पहिला झोलाबाट त निस्कौँ भनेर यो झोलाबाट निस्किने सुरु गर्‍या छ ।”

 

तपाईको प्रतिक्रिया