Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १३ मंसिर २०८३ । सेवाग्राहीसँग रकम लिएका दुई ट्राफिक प्रहरीलाई निलम्बन गरिएको छ । त्यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूलाई कारबाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारू र अस्थायी ट्राफिक पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्काले सवारीचालकसँग रकम लिएको भिडियो सार्वजनिक भएको थियो । यही मंसिर ८ गते उनीहरूले डिउटीमा रहेको अवस्थामा सेवाग्राहीसँग आचारणविपरीत आर्थिक लाभ लिएको भिडियोमा देखिएको कार्यालयले जनाएको छ ।

मंसिर १० गते सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनीहरूलाई मंसिर ११ गतेदेखि लागु हुने गरी निलम्बन गरिएको उक्त कार्यालयका डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनीहरूले भारतीय ट्रकका चालकसँग ५० देखि १०० रुपैयाँसम्म रकम मागेको भिडियो सार्वजनिक भएको थियो ।

घटनाबारे थप तीन ट्राफिक प्रहरीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

“सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा दुईजना ट्राफिक प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ भने सोही घटनाका सम्बन्धमा दुवै अस्थायी प्रहरी पोस्टका इन्चार्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गरी तीनजनालाई नेपाल प्रहरी प्रधान कार्यालयमा झिकाई थप अनुसन्धान भइरहेको छ,” प्रधान कार्यालयले भनेको छ ।

तपाईको प्रतिक्रिया