Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १३ मंसिर २०८३ । अमेरिकी प्रविधि कम्पनी आईबीएमले आफ्नो कन्सल्टिङ व्यवसायमा कार्यरत अधिकांश विदेशी कर्मचारीका लागि भिसा तथा ग्रीन कार्ड प्रायोजन बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले एच–१बी भिसामा कार्यरत कर्मचारीहरूलाई सन् २०२६ डिसेम्बर ३१ सम्ममा अमेरिका छाडेर अन्य देशमा स्थानान्तरण हुन वा जागिर छोड्न विकल्प दिएको छ । जागिर छोड्ने कर्मचारीले तीन महिनाको क्षतिपूर्ति रकम पाउनेछन् ।

यस निर्णयबाट हजारौँ पेसाकर्मी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । आईबीएमले प्रभावित कर्मचारीको यकिन संख्या सार्वजनिक गरेको छैन । तर, यस घटनाक्रमबारे जानकार व्यक्तिहरूका अनुसार प्रभावित हुनेमध्ये हजारौँ भारतीय हुन सक्ने बताइएको छ ।

आईबीएमले आफ्नो निर्णयलाई अमेरिकी सरकारको कडा भिसा नीतिसँग प्रत्यक्ष रूपमा जोडेको छैन । ग्राहकको आवश्यकता र दक्ष जनशक्तिको उपलब्धतामा आएको परिवर्तनका कारण कन्सल्टिङ व्यवसायका अधिकांश पदमा भिसा तथा ग्रीन कार्ड प्रायोजन बन्द गर्ने निर्णय लिइएको कम्पनीले जनाएको छ ।

‘द इन्डियन एक्सप्रेस’सँगको कुराकानीमा कम्पनीले अमेरिकी उच्च दक्ष जनशक्तिसम्बन्धी भिसा कार्यक्रमहरूमा आफ्नो सहभागिता पछिल्ला वर्षहरूमा घट्दै गएको बताएको छ ।

आईबीएमको कन्सल्टिङ व्यवसायमा विश्वभर डेढ लाखभन्दा बढी कर्मचारी कार्यरत छन् । यसले क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता ९एआई० तथा डिजिटल रूपान्तरणलगायत सेवा प्रदान गर्छ ।

यद्यपि, वर्षौंदेखि अमेरिकामा काम गरिरहेका भारतीय कर्मचारीका लागि स्वदेश फर्किनु सहज हुने छैन । उनीहरूले तलबमा ठूलो कटौती व्यहोर्नुपर्ने हुन सक्छ । यसबाहेक जीवनसाथीको रोजगारी, बालबालिकाको पढाइ र परिवारको समग्र जीवनशैलीसमेत प्रभावित हुन सक्छ ।

एच–१बी भिसा र ग्रीन कार्डका नियम थप कडा

आईबीएमको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी कामदारका लागि भिसा तथा स्थायी बसोबासको प्रक्रिया कडा बनाइरहेका बेला आएको हो ।

गत महिना अमेरिकी श्रम विभागले टीसीएस, इन्फोसिस, कग्निजेन्ट, माइक्रोसफ्ट र एडोबीलगायतका ठूला कम्पनीलाई ‘पर्म’ कार्यक्रममा सहभागी हुनबाट निलम्बन गरेको थियो ।

पर्म अर्थात् ‘पर्मानेन्ट लेबर सर्टिफिकेसन’ अमेरिकामा विदेशी कर्मचारीलाई रोजगारीका आधारमा ग्रीन कार्ड दिलाउने प्रक्रियाको महत्त्वपूर्ण प्रारम्भिक चरण हो । यस प्रक्रियामा रोजगारदाताले सम्बन्धित पदका लागि योग्य अमेरिकी कामदार उपलब्ध नभएको र विदेशी कर्मचारी नियुक्त गर्न आवश्यक रहेको प्रमाणित गर्नुपर्छ ।

एच–१बी भिसामाथि पनि बढ्दो दबाब

ट्रम्प प्रशासनले सन् २०२५ सेप्टेम्बरमा विदेशबाट अमेरिका आउने केही नयाँ एच–१बी कर्मचारीका आवेदनमा एक लाख डलर शुल्क लगाउने घोषणा गरेको थियो । उक्त निर्णयलाई कानुनी चुनौतीसमेत दिइएको छ ।

यसका अतिरिक्त, परम्परागत एच–१बी चिठ्ठा प्रणालीको सट्टा तलबमा आधारित छनोट प्रणाली लागु गरिएको छ । यसअन्तर्गत बढी तलब प्रस्ताव गरिएका पदलाई छनोटमा प्राथमिकता दिइन्छ ।

तपाईको प्रतिक्रिया