Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १३ मंसिर २०८३ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयअगाडि धर्ना दिएको छ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आइतबार आन्दोलनमा उत्रिएको हो। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको महासंघको आरोप छ।

त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई लिएर पनि महासंघ आन्दोलनमा उत्रनुपरेको अध्यक्ष निर्मला शर्माले बताइन्। उनले पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले मागप्रति बेवास्ता गरेको उल्लेख गर्दै सरकारलाई थप दबाब दिन तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई मागमा सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिइन्।

दोस्रो चरणको घोषित कार्यक्रमअनुसार १४ मंसिरमा कांग्रेस, १५ मंसिरमा एमाले, १६ मंसिरमा नेकपा, १७ मंसिरमा श्रम संस्कृति पार्टी र १८ मंसिरमा राप्रपाको कार्यालयअगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ। यसैगरी, २० मंसिरमा काठमाडौँको माइतीघर तथा काठमाडौँबाहिरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया