काठमाडौं, १८ कार्तिक २०८३ । चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ । गृह सचिवले सञ्चार सचिवलाई ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न निर्देशन दिएको चलचित्र निर्माण टिमले बताएको छ ।
“गृहसचिवले सञ्चार सचिवलाई फोन गरेर ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न निर्देशन दिएको हामीलाई खबर आएको छ,” ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलाले बाह्रखरीसँग भने, “सञ्चार मन्त्रालयले हामीलाई फोन गरेर प्रदर्शन रोक्न निर्देशन जारी गरिएको पत्र बन्दै छ, लिन आउनु भनेको छ । हामी पत्र लिन जाने तयारीमा छौँ ।”
उनले सिनेमाको बुकिङ समेत रोक्न गृहबाट निर्देशन आएको आफूले सञ्चारबाट जानकारी पाएको बताए ।
‘पाँच पाण्डव’लाई चलचित्र जाँच समितिले आज बिहान प्रदर्शनको इजाजत दिएको थियो । यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको थियो ।
हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले यो सिनेमाले पाँच पाण्डव र द्रोपदीलाई गतल हिसाबले चित्रण गरेको भन्दै सञ्चार मन्त्रालयलमा ज्ञापनपत्र बुझाएर प्रदर्शन रोक्न माग गरेका थिए ।
‘पाँच पाण्डव’ यही २० गतेबाट प्रदर्शन हुने तयारीमा थियो । बुकिङ समेत खुला भइसकेको थियो ।
‘पाँच पाण्डव’को फर्टलुक पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिक्देल अर्जुन, महेश त्रिपाठी नहकुल र सुशील सिटौला सहदेवको पात्रमा छन् ।
इभा गिरी द्रोपदीको रुपमा रहेको बताइएको छ ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् ।
चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन छ ।






