Online Bichar
बुधबार, कार्तिक १९, २०८३ | Wednesday, November 4, 2026

काठमाडौँ, १८ कार्तिक २०८३ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबिच मंगलबार सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा। रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्र विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पुर्‍याइनेछ।

२२ बुँदामा समेटिएको सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्र व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित पोस्टल ट्र्याकिङ सिस्टम (पीआईटीएस) मा दर्ता गरिने उल्लेख छ। यस प्रणालीले कागजात सम्बन्धित ठेगानामा पुगे–नपुगेको अनुगमन गर्न सहज बनाउनेछ।
कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका सेवा हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे।

त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिविको यस कदममार्फत जनतालाई घरघरमै सेवा पुर्‍याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्।

 

तपाईको प्रतिक्रिया