काठमाडौं, १८ कार्तिक २०८३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र त्यसका कारण पेट्रोल तथा ग्यासको मूल्यमा परेको प्रभाव मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये एक रहेको स्वीकार गरेका छन् । उनले चुनावी नतिजाप्रति आश्चर्यसमेत व्यक्त गरेका छन् ।
प्रक्षेपणअनुसार डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभाको पनि नियन्त्रण लिएका छन् । यससँगै ट्रम्पको विधायकी एजेन्डालाई चुनौती दिने उनीहरूको क्षमता बढ्ने बताइएको छ ।
अमेरिकी प्रसारक संस्था फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इरान युद्ध चुनावी नतिजा प्रभावित गर्ने एउटा कारण रहेको बताए । उनले भने, “मलाई लाग्छ, यसको एउटा कारण इरान पनि थियो । तर, मानिसहरूले इरानमा मैले गरेको कामको महत्त्व पनि बुझेका थिए ।”
उनले मतदाताहरू पेट्रोलको मूल्यमा भएको अल्पकालीन वृद्धिसमेत स्वीकार गर्न तयार नरहेको संकेत गरे । “हामीले धेरै ठूला र्यालीहरू गर्यौँ । म अलिकति छक्क परेको छु,” ट्रम्पले भने । उनले डेमोक्रेटहरूले चुनावमा राम्रो काम गरेको पनि स्वीकार गरे ।
ट्रम्पले आप्रवासन लगायतका केही मुद्दामा डेमोक्रेटहरूसँग सहकार्य गर्न सक्ने बताए । तर, आफूले विरोध गरेका प्रस्ताव आएमा भिटो लगाउने चेतावनी दिए ।
“उनीहरूले पागलपनपूर्ण प्रस्तावहरू पठाउनेछन् र म तिनलाई भिटो गर्नेछु । केही महिनासम्म भिटोको प्रक्रिया चलेपछि उनीहरूले फोन गरेर ‘यी काम कसरी अगाडि बढाउने ?’ भनेर सोध्नेछन् । त्यसपछि हामी मिलेर काम गर्नेछौँ,” उनले भने ।
चुनावपछि आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू परिवर्तन गर्ने कुनै योजना नरहेको संकेत पनि ट्रम्पले दिएका छन् ।






