काठमाडौं, १८ कार्तिक २०८३ । सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो आदेश दिएको हो। अदालतले तीनवटा कार्यहरू सम्पन्न गरी पेश गर्न आदेश जारी गरेको हो।
भट्टसँग सम्बन्धित यसअघि दायर भएका दुईवटा निवेदनलाई उक्त रिटसँगै लगाउमा राखेर पेस गर्न,नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रमाण मिसिल विशेष अदालत, काठमाडौंसँग झिकाउन र नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश जारी गरेको हो।
धितोपत्र कारोबार प्रकरणमा भट्ट गत चैत्र १९ गते पक्राउ परेका थिए। गत साउन २७ गते विशेष अदालत काठमाडौंले व्यवसायी भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो।
राजनीतिक आवरणमा रहेर ठूला सरकारी ठेक्कापट्टा र शंकास्पद आर्थिक कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ।उनीविरुद्ध जेठ २८ गते सरकारी वकिल कार्यालयले २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ विगो माग गर्दै भट्टविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको थियो। भट्ट मुद्दा पुर्पक्षका लागि हाल सिन्धुपाल्चोक कारागारमा छन्। केही समयअघि उनलाई नख्खु कारागारबाट स्थान्तरण गरेर त्यहाँ पठाइएको हो।






