बाबु छिटो घर आइज, खोला माथि उक्लिन लागि सक्यो, रूदै आमाको कल आउँछ। भाउजु पनि रुदै भन्नुहुन्छ दादाको फोन लाग्दैन त्रिशुली कलेज पढाउन जानु भाथ्यो। यति सुन्ना साथ म छागा बाट खसे जस्तो भएँ । निरन्तर फोन प्रयास पछि दादासँग कुरा भयो र सुरक्षित छु भन्ने जवाफ आयो। केही हलुका त महसुस भयो तर मनमा फेरि अर्को ठुलो डर पैदा भयो। मेरो जन्मथलो तुप्चे जहाँ बाल्यकाल बितेको ठाउँ, सोले देखि अक्करे अनि त्रिशुली सम्मको मेरो आफन्त, साथीभाइ, गाउँका छिमेकी अनि सँगैको साथीहरुको के भयो होला ?
सानै देखिको मिल्ने साथी सुनिल अनि केशवलाई फोन गरे, निरन्तर घण्टी जान्छ तर उठ्दैन। प्रत्येक घन्टी जादा मुटुको धड्कन पनि तीव्र हुँदै जाने रहेछ, मन झन् आत्तिन थाल्यो। समाचार र सामजिक सञ्जालमा देखे अनुसार सबै घर बगाएर लग्यो, गाउँ नै बगायो, चिल्ला बाटो बगायो, पुल बगायो, सपना बगायो, आशा बगायो। म स्तब्ध भए, मुटु काप्न थाल्यो अहिले नै जाम त्यहाँ जस्तो भयो। तर जाम कता, जानको लागि कुनै बाटो छैन, निरीह महसुस भयो। हामी आखिर को नै रहेछौँ र प्रकृतिको अगाडि ?
प्रकृतिको सुन्दर काखमा बसेको नेपाल, आज प्रकृतिकै रौद्र रूपसँग जुध्न विवश छ। आफू खेलेको हुर्केको ठाउँ आज छिनभरमै बगरमा परिणत गराईदियो। अब बचेकालाई सान्त्वना दिउँ कसरि दिउँ के भनेर दिउँ? भेटेर सम्झाउन अनि सान्त्वना दिनलाई अब को नै बाँकी छ र, आखिर गाउँ नै रित्तियपछि। कतै हेरेर पनि शान्ति मिल्ने अवस्था थिएन। बाढी आउनु १५ दिन अघि सँगै मेरो मोटर बाइकमा भाङे झरना घुम्न गएको साथी सुनिल अनि केशब सँगको त्यो पल नै अन्तिम हुन पुग्यो । फर्केर आउँदा बेत्रावतीमा खाजा खाएको बेत्रावती बजार आज उजाड छ। सुनिल र केशव, मेरो सानै देखिको मिल्ने साथी, म घर जाँदा नभेटी फर्किदा रिसाउथे उनीहरु। सबैले देख्ने खुसी र सुखी परिवारमा आज सुनिलको सानो छोरा बाहेक अरु कोहि रहेनन्। निकै दुःख गरेर सुखी जीवन जिउँदै गरेको केशवले आफ्नो सानो छोरा, आमा र श्रीमती नै गुमाउनु पर्यो। दशैँ र तिहारको रौनक झन् यादगार गराउने यिनै साथीहरु थिए।
नवमीको दिन प्रायजसो हामी सधै ७/८ ओटा मोटर बाइक पूजा गर्न रसुवाको कालिकास्थान जाने गर्थौँ। फर्केर आउँदा कतै बसेर रमाईलो गर्थौँ र हरेक जमघटको केन्द्रबिन्दुमा सुनिल पर्दथ्यो किनकि उसले दोहोरि पनि गाउथ्यो। देउसी भट्टाउदै, हराउदै गएको देउसी भैलोलाई जगेर्ना गर्न हाम्रो यो साथीहरुको समूह सधैँ लागि पर्दथ्यो। नुवाकोट र रसुवा जोड्ने पुलसँगै रहेको होटेल जहाँ हामीलाई मिठो चाउमिन खुवाउदै मिठा गफ गर्ने दिदीको होटेल अब सम्झनामा मात्र सीमित रह्यो। त्यहीँ होटेलमा बसेर बुनेका आनेक योजनामध्य एकदिन बाहिर बस्ने गरि सम्भवत धुलिखेलमा (हाल म बस्ने ठाउँ) रमाइलो गर्न पर्छ है भनेर छुट्टिएको दिन साथीसँगको अन्तिम योजना नै रह्यो। हरेक दिन तुप्चेको खबर सुनाउने साथी केशव आज उसको परिवार र स्वयम् आफू बेखबर छ। कुनै चाडपर्वमा भेटेर जमघट गर्ने र गाउँ जादा दिन बितेको पत्तो नदिने साथीहरु आज बेखबर छन्। सुख दुःखमा साथ दिने र सहयोग गर्ने साथीलाई बाढीले कहाँ र कसरि लग्यो होला, सम्झिदै कहालीलाग्छ। कसैका छोरा छैनन्, कसैका बुवाआमा छैनन्, कसैका साना बच्चा छैनन् तर मसँग सबै छन् तर पनि रित्तो महसुस गर्दैछु। आखिर जीवन बाँच्नु र जिउनु फरक कुरा रहेछ, बाँचेकालाई पनि जिउन गाह्रो हुने रहेछ।
जलवायु परिवर्तनसँगै निम्तिएका विपद्ले तुप्चे, बेत्रावती, अक्करे र आसपासका बस्तीमा सिर्जना गरेको यो भयावह अवस्था देख्दा मनमा एउटै प्रश्न उब्जिन्छ—आखिर यो विनाशको दोषी को हो? प्रकृति, हाम्रो कमजोर पूर्वतयारी, कि समयमै सचेत हुन नसक्ने हाम्रो प्रणाली?
जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्यप्रायः छ, तर त्यसका विनाशकारी परिणाम भोग्नुपर्ने बाध्यता भने हामीजस्ता देशका नागरिकले नै बढी सहनुपरेको छ। यो केवल प्राकृतिक विपत्ति मात्र होइन, जलवायु न्यायसँग जोडिएको एउटा गम्भीर प्रश्न पनि हो। प्रकृतिले हामीलाई समय–समयमा विभिन्न सङ्केत नदिएको होइन। तर विडम्बना, हाम्रो पूर्वानुमान प्रणाली, प्रविधिको प्रयोग र जोखिम सञ्चार अझै पनि अपेक्षित रूपमा प्रभावकारी हुन सकेका छैनन्। लेन्दे खोला हुँदै भोटेकोशीमा उर्लिएको त्यो कहालीलाग्दो बाढी केवल पानीको भेल थिएन; त्यो त जीवन, सपना र सम्भावनाहरू बगाएर लैजाने विनाशको भेल थियो। त्यसको जोखिमसम्बन्धी सूचना र पूर्वानुमान गुणात्मक रुपमा सम्प्रेषण हुन नसक्दा क्षति अझ भयावह बन्न पुग्यो। बाढीको सूचना लिएर नागरिकलाई सचेत गराउन हिँडेका प्रहरीहरू स्वयं पनि बाढीको गति, स्वरूप र त्यसको सम्भावित विनाशकारी प्रभावबारे पर्याप्त जानकारीबाट वञ्चित थिए भन्ने कुरा झन् पीडादायी छ। जब जोखिमको अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी नै पर्याप्त सूचनाबाट सुरक्षित हुँदैनन्, तब सर्वसाधारणको सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ?
विपद् आउनु प्राकृतिक प्रक्रिया हुन सक्छ, तर विपद्ले निम्त्याउने क्षतिको मात्रा हाम्रो तयारी, चेतना र व्यवस्थापनसँग पनि जोडिएको हुन्छ। भनिन्छ, प्रकृतिले नेपाललाई अनुपम वरदान दिएको छ तर आज त्यही प्रकृतिको काखमा बसेका बस्तीहरू विनाशको त्रासमा बाँच्न विवश छन्। हिजोसम्म जीवनको आधार बनेका नदीहरू आज मृत्युको सन्देश बोकेर उर्लिरहेका छन्। प्रकृतिको सुन्दर रूप मात्र हुँदैन रहेछ; कहिलेकाहीँ त्यसले आफ्नो रौद्र र भयावह स्वरूप पनि देखाउँदो रहेछ। तर प्रश्न यो हो—प्रकृतिले हामीलाई दिएको वरदान आज अभिशापमा परिणत हुँदै गएको हो कि प्रकृतिका सङ्केत बुझ्न र त्यसअनुसार आफूलाई तयार पार्न नसक्नु नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो?
आज तुप्चे, बेत्रावती, अक्करे र आसपासका बस्तीले भोगिरहेको पीडा कुनै एक ठाउँको मात्र कथा होइन। बगेका घरहरू, भत्किएका बाटाहरू र उजाडिएका बस्तीहरू केवल भौतिक संरचनाको क्षति होइनन्; ती मानिसका वर्षौँका मेहनत, सपना, सम्झना र भविष्यका सम्भावनाहरू हुन्। अब प्रश्न उठाउने मात्र होइन, उत्तरदायित्व खोज्ने बेला आएको छ। विपद्पछि राहत बाँड्नु आवश्यक छ, तर विपद्अघि जीवन जोगाउनु अझ ठूलो जिम्मेवारी हो।
किनकि बाढीले बगाएको धनसम्पत्ति फेरि जोड्न सकिएला, तर गुमेको जीवन र टुटेका परिवारका सपना सजिलै फर्काउन सकिँदैन। मेरा हराएका साथीहरु, छिमेकी दाजु भाई दिदि बहिनीहरु अब फर्किने आशा त छैन तर आगामी दिनमा फेरी यस्ता असल मनहरु र सुन्दर बस्तीहरुले महाप्रलय व्यहोर्न नपरोस । प्रकृतिसँग युद्ध गरेर होइन, प्रकृतिका सङ्केत बुझेर र समयमै सचेत भएर मात्र हामी सुरक्षित भविष्य निर्माण गर्न सक्छौँ। नत्र, हरेक विपद्पछि शोक मनाउने, दोषारोपण गर्ने र केही समयपछि सबै बिर्सने हाम्रो प्रवृत्तिले अर्को विपद्लाई निम्तो दिइरहनेछ। प्रकृतिले दिएको सुन्दर नेपाललाई सुरक्षित नेपाल बनाउने जिम्मेवारी पनि हाम्रै हो। प्रश्न यति मात्र हो—अर्को विपद्ले हाम्रो ढोका ढकढक्याउनुअघि हामी जाग्नेछौँ कि फेरि कसैको आँसु र चित्कारपछि मात्र चेत्नेछौँ? आशा छ कि अब मेरो तुप्चे फेरी जाग्ने छ फेरी उठ्ने छ ।
सम्पुर्ण दिबंगत आत्माको चिर शान्तिको कामना सहित भाबपूर्ण श्रदान्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।
जनार्जन अधिकारी, लेक्चरर, काठमाडौँ विश्वविध्यालय, धुलिखेल , स्थाई ठेगाना: बिदुर-७, तुप्चे, नुवाकोट






