काठमाडौं, ३० असोज २०८३ । नेपाल राष्ट्र बैंकले दसैं,तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचना अनुसार अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। यसअघि यस्तो सीमा दैनिक १० पटकसम्म मात्रै थियो।
राष्ट्र बैंकले बडादसैंका अवसरमा असोज ३१ देखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ देखि २९ गतेसम्मका लागि यो व्यवस्था लागू गरेको जनाएको छ।
पर्वका समयमा डिजिटल भुक्तानीको प्रयोग र कारोबार बढ्ने भएकाले वालेटमा रकम जम्मा गर्ने पटकको सीमा बढाइएको हो। राष्ट्र बैंकले सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई उक्त अवधिमा भएको कारोबारको संख्या र कूल रकमबारे विभागलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ।






