Online Bichar
आइतबार, कार्तिक ०२, २०८३ | Sunday, October 18, 2026

काठमाडौं, ३० असोज २०८३ । यसपालि दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने पूर्वानुमान छ । कतैकतै हल्का वर्षा/हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार (असोज ३०) दिउँसो दसैँ विशेष मौसम बुलेटिन जारी गरेको हो । “हालको मौसम विश्लेषणानुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकोले यस वर्षको दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने देखिन्छ,” महाशाखाले भनेको छ ।

असोज ३१ गते अर्थात् फूलपाती दिनको मौसम
फूलपातीका दिन दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ । बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा समेत आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

“लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ,” महाशाखाले भनेको छ, “देशको हिमाली भूभाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।”

फूलपातीका दिन राति हिमाली भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

“तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ,” महाशाखाले भनेको छ, “कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।”

कात्तिक १ अर्थात् महाअष्टमी दिनको मौसम
महाअष्टमीका दिन दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

“लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ,” महाशाखाले भनेको छ, “देशको हिमाली भूभाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।”

महाअष्टमीका दिन राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

“कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ,” महाशाखाले भनेको छ, “तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।”

कात्तिक २, ३ र ४ अर्थात् अष्टमी, महानवमी र विजयादशमीको मौसम
कात्तिक २ देखि ४ गतेसम्म अर्थात् अष्टमीदेखि दसैँ टीका दिनसम्मको अवधिमा कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

“देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ,” महाशाखाले भनेको छ, “कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।”

तपाईको प्रतिक्रिया