Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

खगेन्द्र न्यौपाने

सवै थोक खानु भन्दा अगाडी
सपथ खानुपर्छ ।
सपथ खाइसके पछि
जे खाए पनि हुन्छ ।
बग्दै गरेका कोशी गण्डकी
तन्तनी खाए हुन्छ
चुरे चारकोसे पाहाड जङ्गल
सवै चपाए हुन्छ ।
एक लाइन भाषण गर्न
लाखौंको हेलिकप्टर उडाए हुन्छ
एक तुर्को रक्सी प्यून
सयौं मोटर गुडाए हुन्छ ।
हो हजुर !
यहाँ सपथ खाएपछि
जे खाए पनि हुन्छ ।
चोरलाई चौतारो र साधूलाई सूली हुने देशमा
सडकको अलकत्र
मिठो भान्सा बनाए हुन्छ ।
यहाँको पुलको पैसाले
छोरा छोरी बिदेश पढ्न पठाइ
आफूलाई आदर्श नेता जनाए हुन्छ ।
कर्मचारीको सलोट खाए हुन्छ
निर्माणको ढलोट खाए हुन्छ
तमोर कावेली , मादी मर्स्याङ्दी
सवै सवै खाए हुन्छ
यहाँ सपथ खाए पछि
जे खाए पनि हुन्छ ।
भ्रष्टचारी शर्मा र बर्मालाई
न्यायको सफाई दिलाउन
नगदको लक्कुर खाए हुन्छ ।
सरकारी उद्योग धन्दा समाप्त पारि
स्वदेशी अर्थतन्त्रलाई
उँधै धपाए हुन्छ ।
आखिर तपाईंको पनि भविष्य
युरोप अमेरिका भएपछि
यो देशलाई च्याते हुन्छ , चपाए हुन्छ
किनकि
सपथ खाएपछि , जे खाए पनि हुन्छ ।
ज्वाईंलाई ठेकेदार
भान्जालाई भन्सार जिम्मा लाए हुन्छ
देशभक्तिको देखावटी गीत
सभा समारोहमा गाए हुन्छ ।
हो हजुर !
सवैभन्दा पहिला , सपथ खानुहोस
सपथ खाएपछि
जे खाए पनि हुन्छ ।
तपाईको प्रतिक्रिया