Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

झापा, ९ वैशाख २०८३ । भारतबाट पाटाको सागभित्र ब्राउन सुगर लुकाएर नेपाल ल्याउँदै गरेकी एक महिला भद्रपुर नाकाबाट पक्राउ परेकी छन्।
मंगलबार दिउँसो करिब ४ः३० बजे भद्रपुर–५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी भद्रपुर–६ की ५० वर्षीया खैरुन खातुनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार शङ्का लागेर गरिएको चेकजाँचका क्रममा उनले बोकेको कालो प्लास्टिकको झोलामा पाटाको सागको मुठाभित्र लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर फेला परेको थियो। प्लास्टिकसहित ४ ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

यसैबीच, सोही दिन राति करिब ८ः३० बजे दमक–८ किरात चोकका २२ वर्षीय एलिसराज खरेल पनि ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले खरेलको घर खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाएर राखिएको अवस्थामा प्लास्टिकसहित ६ ग्राम ९७० मिलिग्राम र प्लास्टिकबाहेक ५ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर तथा डिजिटल तराजु बरामद गरेको हो।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया