झापा, ९ वैशाख २०८३ । झापाको अर्जुनधारा नगरपालिका–११ बगान क्षेत्रबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान करिब ४ बजे लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ २७ ग्राम ८३० मिलिग्राम बरामद गरिएको छ। साथै बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा अर्जुनधारा–११ का २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






