Online Bichar
बुधबार, बैशाख ०९, २०८३ | Wednesday, April 22, 2026

बुटवल, ९ वैशाख २०८३ । स्वास्थ्य परीक्षणमा कथित लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न थप दुई चिकित्सकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार पाल्पाकी २९ वर्षीया गीता पाण्डेको स्वास्थ्य परीक्षणका क्रममा मृत्यु भएको थियो। सोही घटनामा खत्री नर्सिङ होमका सञ्चालक डा। डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा। सतिस रुपाखेतीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार दुवै चिकित्सक आफैँ प्रहरी समक्ष उपस्थित भएका थिए।
यसअघि नै जोनल फार्मेसीका सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले गम्भीर लापरबाही गरिएको आरोप लगाउँदै पाँचजनाविरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनापछि आक्रोशित आफन्तहरूले उपचारमा संलग्न तीनवटै स्वास्थ्य संस्थामा तालाबन्दीसमेत गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया