काठमाडौं, ७ वैशाख २०८३ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ। पासपोर्टमा ‘काम गर्न निषेध’ भन्ने सर्त उल्लेख गर्ने कार्य गैरकानुनी भएको भन्दै उनीहरूमाथि छानबिन सुरु गरिएको विभागले जनाएको छ।
विभागले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने कुनै आधिकारिक नीति वा निर्णय नभएको स्पष्ट पारिएको छ। विभागका अनुसार प्रचलित कानुन र विभागीय निर्णयभन्दा बाहिर गई गरिएको यस्तो अभ्यास अस्वीकार्य भएकाले सम्बन्धित अधिकृतहरूलाई जिम्मेवारीबाट हटाइएको हो।
विज्ञप्तिमा भनिएको छ, “गैरकानुनी अभ्यास गर्ने दुईजना अध्यागमन अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ।”
यसैबीच, युनाइटेड अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको पासपोर्टमा प्रस्थान छापसँगै ‘२०२६ जुन १० सम्म काम गर्न निषेध’ भन्ने उल्लेख गरिएको विषय सार्वजनिक भएपछि विभागले छानबिन समिति गठन गरेको छ।
विभागका अनुसार यही वैशाख ३ गतेको निर्णयअनुसार समिति गठन गरिएको हो। हाल छानबिन समितिले उक्त घटनाको कारण, प्रक्रिया र जिम्मेवार पक्षको अध्ययन सुरु गरेको छ।
पासपोर्टमा यस्तो सर्त लेखिएको विषय बाहिरिएपछि यसले प्रशासनिक अभ्यास र कानुनी प्रक्रियाबारे प्रश्न उठाएको छ।






