झापा, ७ वैशाख २०८३ । झापाको दमकमा कामको बहानामा बोलाएर एक व्यक्तिमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
दमक नगरपालिका–१ हबल्दार चोक निवासी ४३ वर्षीय बिरेन्द्र बस्नेतलाई दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले “ तपाई संग काम छ” भन्दै दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाएका थिए।
उक्त स्थानमा पुगेपछि उनीमाथि ती व्यक्तिहरूले एक्कासी अश्लील शब्द प्रयोग गर्दै गालीगलौजसहित कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे सूचना पाएलगत्तै प्रहरी टोली खटिएर कुटपिटमा संलग्नमध्ये दुरेन राई र शिव साहलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाइएको छ।
अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र गर्धनमा सामान्य चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।






