काठमाडौं, ६ वैशाख २०८३ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूको तलब तथा भत्ता १५–१५ दिनको अन्तरमा भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ ।
अर्थ मन्त्रालयले यस सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयलाई औपचारिक पत्राचार गर्दै नयाँ प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै हालसम्म मासिक रूपमा हुँदै आएको तलब भुक्तानी प्रणालीलाई परिवर्तन गरी अर्धमासिक (१५–१५ दिन) आधारमा वितरण गर्ने निर्णय गरेका हुन् ।
मन्त्रालयले पठाएको पत्रमा सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरण हाल मासिक रूपमा हुँदै आएको भए पनि अबदेखि अर्धमासिक रूपमा भुक्तानी गर्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ । सरकारको यो निर्णय कार्यान्वयन भएमा कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउने नयाँ प्रणाली सुरु हुनेछ ।






