Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

काठमाडौं, ६ वैशाख २०८३ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा फेसलेस बनाउन अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरेको हो ।

एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू) सँग एपीआईमार्फत् अन्तरआवद्ध गरिएपछि विद्यार्थीले घरमै बसेर आवेदन दिन र प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि वैशाख ४ गते त्रिविसँग सम्झौता भएको हो भने केयूसँग यसअघि नै सहकार्य भइसकेको थियो ।

नयाँ व्यवस्थाअनुसार, विद्यार्थीले आवेदन दिएपछि नागरिकताको विवरण गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र शैक्षिक विवरण एनईबी सँगको प्रणालीमार्फत् स्वतः प्रमाणीकरण हुनेछ । यसले गर्दा आवेदकलाई कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट हटेको छ ।

यसअघि स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन दिने विद्यार्थीले विश्वविद्यालयको प्रमाणपत्र रुजु गराउन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो । तर अब त्रिवि र केयूसँगको अन्तरआवद्धतापछि त्यस्तो आवश्यकता समेत हटाइएको एनओसी शाखाले जनाएको छ ।

त्यसैगरी, महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग जोडिएकाले एनओसीको राजस्व भुक्तानी पनि पूर्ण रूपमा अनलाइनबाट हुने भएको छ । स्वीकृत एनओसी प्रमाणपत्र आवेदकले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।

एनओसी सर्टिफिकेटमा क्यूआर कोड समावेश गरिएकाले यसको प्रमाणीकरण पनि सजिलै गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीलाई सहजता, पारदर्शिता र समय बचत हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया