Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

झापा, २० असोज २०८३ । पूर्वी नेपालमा लागूऔषध सप्लाई गर्न खोज्ने दुईजना भारतीय तस्कर भारतको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् । किशनगंज प्रहरीले दुई अलग–अलग कार्वाहीमा ४०८ ग्राम ब्राउन सुगर र ३ केजी ८८८ ग्राम गाँजासहित दुई अन्तरराज्यीय तस्करलाई पक्राउ गरेको हो । किशनगंजका प्रहरी अधीक्षक सन्तोष कुमारद्वारा लागूऔषधविरुद्ध संचालन गरिएको विशेष अभियानअन्तर्गत शनिवार एमजीएम गेट नं २ मालद्वार जाने सडकनजिक विशेष चेकजाँच शुरु गरिएको थियो ।

त्यस क्रममा एक संदिग्ध व्यक्तिको हातमा कालो रंगको प्लास्टिक रहेको थियो । प्रहरीलाई देखेर भाग्न खोजेका उनलाई घेराउ गरेर समातिएको थियो । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर दिनाजपुर ग्वालपोखर मालद्वार बस्ने ३० वर्षीय निखिल मण्डल रहेका छन् । उनलाई तलासी गर्दा प्लास्टिकको झोलाभित्र ४०८ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

सोधपुछका क्रममा उनले सो लागूऔषध मालद्वारबाट ल्याएर किशनगंज जिल्लाको एमजीएम नजिक अन्य तस्करलाई डिलीवरी गर्न आइरहेका थिए । सो लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य करिव ८० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ ।

सोही दिन टाउन हल किशनगंजनजिक अर्का तस्कर ३.८८८ किलोग्राम गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मुर्शीदावाद जिल्ला इस्लामपुर रायपुरका ३० वर्षीय सत्तार शेख रहेका छन् ।

केही महिनादेखि भारतीय प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई तीब्रता दिएको छ । किशनगंजमा एक सातामा ८२ जना पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया