झापा, १९ असोज २०८३ । झापाको कचनकवल गाउँपालिका–५ पाठामारी सीमा क्षेत्रबाट १२.७७० ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी पाठामारीबाट खटिएको गस्ती टोलीले शनिवार साँझ करिब ६ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ८ प ८८३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा अवैध सुनजस्तो देखिने पहेँलो धातुको ढिक्का बरामद गरेको हो। मोटरसाइकल चालक ओमबाबु कर्मकार र पछाडि सवार भारतको किशनगञ्ज निवासी मनोज कर्मकारको साथबाट उक्त धातु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद वस्तु तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर सोमबार भद्रपुर भन्सार कार्यालय बुझाइएको छ। सशस्त्र प्रहरीका अनुसार बरामद १२।७७० ग्राम सुनको मूल्य ३ लाख १९ हजार ६८७ रुपैयाँ र मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ कायम गरिएको छ। बरामद सामान र मोटरसाइकलसहितको कुल मूल्य ४ लाख १९ हजार ६८७ रुपैयाँ रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी तथा डीएसपी सुजित विष्टले जानकारी दिए ।






