Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, १९ असोज २०८३ । कोहलपुरको थापा पोलिक्लिनिक घटनालाई लिएर स्वास्थ्य व्यवसायी परिषद्ले छानबिन समिति गठन गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनामा नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार असोज १७ गते भएको घटनाका सम्बन्धमा अनलाइन उजुरी परेको छ । उक्त उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न पाँच सदस्यीय समिति गठन गरेको हो।

बिरामीले आफूमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सकमाथि हातपात गरेको भिडियो समेत सार्वजनिक भएको थियो । पीडितले करणीसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार जाहेरीका आधारमा कोहलपुर नगरपालिका–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। उनी सोही पोलिक्लिनिकका सञ्चालकसमेत रहेको र उनीसँग सीएमए प्रमाणपत्र मात्र रहेको खुलेको छ । उनीसँग उपचारका लागि आवश्यक इजाजत नभएको प्रहरीले जनाएको छ।

प्रहरीले थापामाथि नेपाल मेडिकल काउन्सिलको आचारसंहिता विपरीतको कार्यमा पनि अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया