काठमाडौँ, २० असोज २०८३ । प्रहरी टोलीलाई गालीगलौज तथा हातपात गरी कर्तव्य पालनमा बाधा पुर्याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आठबिसकोट नगरपालिका–३ का गोपाल विक भन्ने वीरेन्द्र विकविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
प्रहरीले खोजी गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे मुसिकोट नगरपालिका–१, कालिका मन्दिरस्थित सडकमा वीरेन्द्र विक र उनका दाजु तथा आठबिसकोट–३ का वडाध्यक्ष विकलाई फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार वीरेन्द्र विकलाई आफूविरुद्ध जाहेरी परेको र जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी गराउने क्रममा वडाध्यक्ष केशरमान विकले प्रहरी टोलीसँग विवाद गर्दै अश्लील शब्द प्रयोग गरी गालीगलौज तथा धकेलाधकेल गरेका थिए।
त्यस क्रममा उनले आफ्ना भाइ वीरेन्द्र विकलाई उक्त स्थानबाट भगाएको र ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गर्नुका साथै कपडासमेत च्यातिदिएको प्रहरीको दाबी छ। सोही आरोपमा प्रहरीले केशरमान विकलाई घटनास्थलबाटै पक्राउ गरेको हो।
पक्राउ परेका वडाध्यक्ष विकलाई जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमबाट ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसूरमा तीन दिनको म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक परियारले जानकारी दिए।






