काठमाडौं, ६ वैशाख २०८२ । रुविना क्षेत्रीले उत्कृष्ट बलिङप्रेरित नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा पहिलो जित निकालेको छ ।
आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गर्दै ट्रफीमा जितको खाता खोलेको हो । प्रतियोगितामा खराब सुरुआत गरेको नेपाल यसअघि सम्पन्न पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो ।
आइतबार रुवान्डाको गाहांगा क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा नेपालले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको इटाली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटियो ।
इटालीलाई सस्तैमा रोक्न रुविना क्षेत्रीले सर्वाधिक चार विकेट लिइन् । २.४ ओभर बलिङ गरेकी रुविनाले एक मेडन ओभर फ्याक्दै चार रन खर्चिइन् ।
कविता कुँवरले दुई विकेट लिँदा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान एक विकेट लिए ।
इटालीका थिलिनी फर्नान्डोले २२ रन बनाउँदा पसिन्दी कानान्गेले १२ रन बनाए । यी दुईबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोडन सकेनन् ।
त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको नेपालले इटालीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११२ रनको योगफल खडा गरेको थियो ।
नेपालका निम्ति पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । अविजित रहेकी पूजाले ४५ बलमा दुई चौका र एक छक्का प्रहार गरिन् ।
सम्झना खड्काले १६, विन्दु रावलले १५ र कप्तान इन्दु वर्माले १० रन बनाइन् ।
इटालीका निम्ति इमिलिया वार्टरामले तीन विकेट लिइन् । थिलिनी फर्नान्डो, पसिन्दी कानन्केगे, लिनिया सिम्स, एलेक्सीया कोन्टोपिराकीसल, कुमूण्डु पेड्रिकले समान एक विकेट लिए ।
इटालीको भने यो प्रतियोगिताको पहिलो हार हो । इटालीले यसअघि भएको पहिलो खेलमा डएिलएलस प्रणालीको आधारमा १६ रनको जित निकालेको थियो ।






