झापा, २ मंसिर २०८३ । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम बढेको हो । हिजो बिर्तामोड क्षेत्रमा दुईवटा स्कुल बस दुर्घटना भएका छन् ।
हिजो बिहान ९ः१० बजे अर्जुनधारा वडा नं.९ कार्कीडाँडास्थित माता मन्दिर –प्रणामी मन्दिर भित्री पक्की सडक खण्डमा माता मन्दिरबाट प्रणामी मन्दिरतर्फ आउँदै गरेको बिर्तामोड वडा नं १ बस्ने ५१ वर्षीय अबिदल गुरुङले चलाएको मे १ क १९४ नं.को लिटल फ्लावर्स इङ्लिस स्कुलको बस र भित्री कच्ची शाखा बाटोबाट निस्कदै गरेको प्र.१–०१–०१६ प २६५५ नं को स्कुटी एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा ६ बस्ने बर्ष ४५ की धनमाया राजवंशी घाइते भएकी छन् । उनको छाती र दुबै कुममा चोट लागेको छ । सोही स्कुटीमा पछाडी सवार अर्जुनधारा वडा नं.९ बस्ने बर्ष ४० का रतन राजवंशी पनि घाइते भएका छन् । उनको दाँया खुट्टामा चोट लागेको छ । सामान्य घाइते दुवैलाई उपचारको लागि कनकाई अस्पताल बिर्तामोड पठाईएको थियो ।
त्यस्तै गएराति १०:१५ बजे बिर्तामोड ८ हर्चनास्थित बिर्तामोड– भद्रपुर सडक खण्डमा बिर्तामोडबाट किसनभिट्टातर्फ जाँदै गरेको प्रदेश ३ –०१–००६ ख ०१९३ नं को इकम कलेजको बस दाहिने मोड्ने क्रममा दाहिने साईडको अगाडीको चक्काको किङपिन भाचिएर दुर्घटना भएको छ । जसका कारण एकतर्फी बाटो अबरोध भएको छ । बस चालक बिर्तामोड-८ किसनभिट्टा बस्ने बर्ष ५५ का कर्णबहादुर तामाङ भएको बुझिएको छ ।
अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएर चालकसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।






