Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २ मंसिर २०८३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनको हत्याको षड्यन्त्र रचेको आरोपमा पाकिस्तानी नागरिक आसिफ मर्चेन्टलाई अमेरिकामा २७ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ ।

अमेरिकी अभियोजनकर्ताहरूले उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को निर्देशनमा उक्त षड्यन्त्र रचेको बताएका थिए । तर, अमेरिकी अनुसन्धान निकायले समयमै योजना विफल पारेपछि कुनै आक्रमण हुन पाएन ।

अमेरिकी न्याय विभागले मंगलबार न्युयोर्कको ब्रुकलिनस्थित संघीय अदालतका जिल्ला न्यायाधीश एरिक आर कोमिटीले मर्चेन्टलाई सजाय सुनाएको जनाएको छ ।

४८ वर्षीय मर्चेन्टलाई गत मार्च ६ मा जुरीले सुपारी दिएर हत्या गराउने षड्यन्त्र र अन्तर्राष्ट्रिय सीमापार आतंकवादी गतिविधि सञ्चालन गर्ने प्रयासमा दोषी ठहर गरेको थियो ।

अभियोजन पक्षका अनुसार, मर्चेन्टले एक अमेरिकी राजनीतिक नेताको हत्या गर्न पेसेवर हत्यारा खोजेका थिए । तर, उनले हत्याका लागि सम्पर्क गरेका व्यक्ति वास्तवमा एफबीआईका गोप्य एजेन्ट थिए । अनुसन्धानकर्ताहरूले आक्रमण हुनुअघि नै उनको योजना विफल पारेका थिए ।

मर्चेन्टले अदालतमा बयान दिँदै षड्यन्त्रको मुख्य निशाना ट्रम्प रहेको स्वीकार गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेली पनि सम्भावित निशानामा थिए ।

सजाय सुनाउँदै अमेरिकी महान्यायाधिवक्ता टड ब्ल्यान्चले अमेरिकी नेताहरूविरुद्ध विदेशी आतंकवादी षड्यन्त्रलाई कुनै हालतमा सहन नसकिने बताए ।

तपाईको प्रतिक्रिया