काठमाडौं, ३ मंसिर २०८३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भवितव्यले पार्टीमा कोही पनि शीर्ष स्थानमा नपुग्ने बताएका छन् । काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलामा बिहीबार (मंसिर ३) उनले पार्टीको पदाधिकारी बन्न योग्यता पुगेको हुनुपर्ने बताएका हुन् ।
“अरूमा जस्तो जे भए पनि हुन्छ, जो भए नि हुन्छ भन्ने होइन । नेतृत्वमा वैचारिक स्पष्टता, सांगठनिक अनुभव, इतिहास, योगदान सबै चिजको मूल्यांकन गरिन्छ,” ओलीले भने ।
उनले थपे, “हाम्रो पार्टीमा भवितव्यले, भवितव्यले एकछिन ऊसँग मिलेर, यताउता गरेर कोही भवितव्यले हाम्रो पार्टीमा अध्यक्ष, उपाध्यक्ष, वरिष्ठ नेता, महासचिव, उपमहासचिव, सचिव भवितव्यले हुँदैन । कुनै पनि ठाउँमा भवितव्यले हाम्रो पार्टीमा शीर्ष स्थानमा पुग्दैन ।”
उनले युवा, महिलालाई एमालेले अघि बढाउन चाहेको भने बताए । तर, युवा भएकै आधारमा क्षमता नभई नेतृत्वमा नपुग्ने उनले स्पष्ट पारे ।
“हामीले कुनै भ्रममा पर्नु हुँदैन । युवाहरूलाई प्राथमिकताका साथ अघि बढाउन चाहन्छौँ । तर, टुप्पामा लगेर पदमा राख्दैमा, युवा उमेर पुग्यो अब, मेरो छोराको उमेर पुग्यो अब, युवा भएपछि केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा किन नराख्ने, युवालाई महत्त्व दिनुपर्छ, अब मेरो छोरालाई सचिवालयमा राख्नुपर्छ भन्ने यहाँ चल्दैन,” ओलीले भने ।
एमालेमा संगठन, काम सिक्नुपर्ने, विचार अध्ययन र आन्दोलनमा सरिक हुनुपर्ने उनले बताए ।






