काठमाडौं, ६ वैशाख २०८३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई महत्वपूर्ण ऐन संशोधनका लागि तयार गरिएको मस्यौदामा सरोकारवालासँग सुझाव माग गरेको छ ।
मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधनका लागि तयार पारिएको विधेयक मस्यौदामा यही साताभित्र राय, सुझाव तथा प्रतिक्रिया दिन आह्वान गरेको जनाएको हो ।
कानुनलाई समयानुकूल र प्रभावकारी बनाउन विभिन्न नयाँ प्रावधान समावेश गरिएको मन्त्रालयले उल्लेख गरेको छ । सरोकार भएका निकाय, विज्ञ, तथा आम नागरिकबाट प्राप्त सुझावका आधारमा मस्यौदालाई थप परिमार्जन गरिने जनाइएको छ ।
मन्त्रालयका अनुसार, सार्वजनिक गरिएको मस्यौदामा इच्छुक सबैले आफ्नो धारणा पेश गर्न सक्नेछन्, जसले कानून निर्माण प्रक्रियालाई अझ समावेशी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।






