काठमाडौं, ६ वैशाख २०८३ । सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरण सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आइतबार र सोमबार (वैशाख ६–७) दुई दिन यो अभियान सञ्चालन भइरहेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि दिइँदैछ ।
कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्थानीय तहले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई सेवा प्रदान गरिरहेका छन् ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ ले आँखाको दृष्टि सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र बालबालिकाको समग्र वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै, जुकाको औषधिले पेटका किरा नष्ट गर्नुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखालाजस्ता समस्या कम गर्न सहयोग पुर्याउँछ ।
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम वि.सं. २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ सालदेखि देशभर विस्तार गरिएको हो । जुकाको औषधि खुवाउने कार्यक्रम भने वि।सं। २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि देशभर लागू गरिएको छ । सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा यस कार्यक्रममार्फत बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।रासस






