Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, ७ वैशाख २०८३ । भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै पूर्वी नेपालको प्रमुख सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्जिलिङको निर्णयअनुसार झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर सीमा नाका आज साँझ ६ बजेदेखि बैशाख १० गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ।

सो अवधिमा पैदल यात्रु तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ। यद्यपि अति आवश्यक काम, बिरामी, विदेशी पर्यटक तथा सड्ने प्रकृतिका खाद्यान्न बोकेका सवारीसाधनलाई आवश्यक कागजातसहित सीमित आवतजावतको अनुमति दिइने बताइएको छ।

यता, बिहारसँग जोडिएको भद्रपुर–गलगलिया सीमा नाका भने खुला रहनेछ। तर त्यहाँबाट पश्चिम बंगालतर्फ प्रवेश गर्नेहरूलाई कडाइ गरिने जनाइएको छ।

पश्चिम बंगालमा अप्रिल २३ (बैशाख १०) मा पहिलो चरणअन्तर्गत १६ जिल्लाका १५२ सिटमा मतदान हुँदैछ। करिब ३.६ करोड मतदाता सहभागी हुने यस निर्वाचनका लागि भारतीय निर्वाचन आयोगले व्यापक सुरक्षा व्यवस्था मिलाएको छ।

तपाईको प्रतिक्रिया