Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा, ७ वैशाख २०८३ । झापा ११ ले प्रतिष्ठित विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि जित्दै आफ्नो प्रभावशाली उपस्थिति पुनः स्थापित गरेको छ।

सहिद रंगशालामा गएराति सम्पन्न रोमाञ्चक फाइनल खेलमा झापा ११ ले घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक च्याम्पियन बन्न सफल भयो। यसअघि झापाले २०७१ सालमा पहिलो पटक उपाधि जितेको थियो।

उपाधिसँगै झापा ११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही राम्रो अवसर बनाए पनि गोल गर्न सकेनन्। खेलको ८१औँ मिनेटमा राजेश दाहालले गोल गर्दै झापालाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारको लामो पासलाई सदुपयोग गर्दै उनले टोलीलाई निर्णायक अवस्थामा पुर्‍याए।

त्यसको केही मिनेटमै दिवस उराउले अर्को गोल थप्दै झापाको जित लगभग सुनिश्चित गरे। फागुराम थारूको पासमा उनले उत्कृष्ट फिनिसिङ गरेका थिए। इन्जुरी समयमा सम्राटका सौरभ तामाङले एक गोल फर्काए पनि खेलको नतिजा बदल्न सकेनन्।

खेलमा राजेश दाहाल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार जिते। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै झापा ११ का फागुराम थारू सर्वाधिक गोलकर्ता बने।

यस्तै, सम्राटका अशोक खवास ‘सर्वोत्कृष्ट खेलाडी’, झापा ११ का विशाल सुनार उत्कृष्ट गोलरक्षक तथा सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए।

चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया