Online Bichar
मंगलबार, जेठ ०५, २०८३ | Tuesday, May 19, 2026

 

काठमाडौँ । तपाईंलाई बिना कुनै कारण हल्का रिस उठ्ने, बढी तिर्खा लाग्ने, पटकपटक पिसाब लाग्ने, डर लाग्ने, नैराश्यताको अनुभव भइराखेको छ र यसका साथै पेटको गोलाई पनि बढिरहेको छ भने होश गर्नुहोला, मधुमेह लागेको हुनसक्छ।

मधुमेहको प्रथम लक्षणमा ती अवस्था देखिन सक्छ। रगतमा ग्लुकोजको मात्रा अत्यधिक आएको अवस्थालाई मधुमेह भनिन्छ। रगतमा अत्यधिक मात्रामा ग्लुकोज भएमा स्वास्थ्यका लागि राम्रो मानिन्न। सामान्यतः रगतमा १४० ग्लुकोज देखिएमा मधुमेहको पूर्व अवस्था हो।
डाइबिटिज नेपालद्वारा आज यहाँ आयोजित मधुमेह रोगसम्बन्धी सम्मेलनमा अस्वच्छ खानपान र जीवनशैलीका कारण मधुमेहका रोग विशेषतः सहरी क्षेत्रमा दिनप्रतिदिन फैलिरहेको जानकारी दिइयो।
आयोजक संस्थाका अनुसार सहरी क्षेत्रमा पाँचघरमा एकघर मधुमेहका रोगी रहेका नेपालमा करिब आठ लाख यसका रोगी छन्।
चिकित्सा विज्ञान अध्ययन संस्थानका प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठले मधुमेह हुन नदिन नियमित व्यायाम, धुम्रपान तथा मदिरापान सेवनको अन्त्य, रगतमा ग्लुकोजलाई नियन्त्रण, कम नुन तथा चिनी भएका खानेकुरा सेवन गर्न आवश्यक भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “पछिल्लो समय सहरवासीमा व्यायाम कम गर्ने प्रवृत्ति, बढी खानपानमा रमाउने, खानपानमा चिल्लो, पिरो, अमिलो मन पराउनेजस्ता कारण मधुमेहका रोगीहरू बढिरहेका छन्, त्यसैले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ।”
मधुमेहलाई समयमा उपचार नगर्ने हो भने यसबाट आँखा, मुटु, मिर्गाैला, स्नायुमा समेत असर पुग्ने कार्यक्रममा जानकारी दिइयो। मधुमेह विज्ञ प्रा. डा. सत्येन्द्र राजभण्डारीले भन्नुभयो, “कुनै पनि उमेरमा मधुमेह हुनसक्छ, त्यसैले यसलाई समयमै नियन्त्रणमा ल्याउन स्वास्थ्य परीक्षण गराइरहनुपर्छ।”
कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले मधुमेह रोगबारे आमजनतालाई थाहा नै नभएको र रोग लागेपछि मात्र थाहा पाउने अहिलेको अवस्थालाई अन्त्य गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
आयोजक संस्थाका महासचिव कैलाशराम प्रधानले आम जनतालाई मधुरोग के हो, यो रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने जानकारी दिन चेतनामूलक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल, भारत, अमेरिका, बेलायतका मधुमेह विशेषज्ञ चिकित्सकहरूले रोगबार जानकारी दिनेछन्। कार्यक्रममा मधुमेहका रोगीको खानपान कस्तो हुनुपर्छ भन्ने जानकारी दिन खानाको प्रदर्शनीसमेत गरिएको थियो। रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments