काठमाडौं, १० मंसिर २०८३ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।
बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ ।
मन्त्रालयले सोसम्बन्धी विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको जानकारी दिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रस्तावित संशोधनमा स्वास्थ्य बिमाको योगदान संकलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बिमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै, स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायत निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बिमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् ।
स्वास्थ्य बिमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाएको मन्त्री मेहताले बताएकी छन् ।






