काठमाडौं, ९ मंसिर २०८३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदार १४ राष्ट्रका लागि नयाँ भन्सार दर तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनअघि ट्रम्प प्रशासनले नयाँ भन्सार दर अघि सारेको बीबीसी र रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ। अमेरिकाले चीन, युरोपेली संघ, स्वीट्जरल्याण्ड, मलेसिया, कम्बोडिया भियतनाम लगायतका मुलुकलाई नयाँ भन्सार शुल्क तोकेको हो ।
उक्त सूचीमा ताइवान, बंगलादेश, जापान र भारत छन् । सबैभन्दा धेरै चीनका लागि ४० प्रतिशत र भियतनामका लागि ३५ प्रतिशत भन्सार शुल्क तोकिएको विवरण रोयटर्सले उल्लेख गरेको छ । अन्य मुलुकहरूले २० देखि २५ प्रतिशत दरको सामना गर्नुपर्ने उल्लेख गरिएको छ ।
अमेरिकी उत्पादनको आधारलाई कमजोर बनाउँदै व्यापार सन्तुलन बिगार्ने विकृत अभ्यास रोक्नका लागि यो कदम चालिएको अमेरिकाको तर्क छ । ”विगत एक दशकदेखि भइरहेका यस्ता प्रयास र प्रयत्नलाई रोक्दै विश्व अर्थतन्त्रलाई नयाँ र दिगो मार्गमा लैजाने उद्देश्यले राष्ट्रपति ट्रम्पले नयाँ भन्सार दर अघि सारेका हुन्,” ट्रम्प प्रशासनका वाणिज्य प्रतिनिधि जेमिसन ग्रिरको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
ट्र्म्पले भन्सारको दर हेरफेर गरेको यो पहिलोपटक भने होइन । फेब्रुअरी १ २०२५ मा उनले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत थप भन्सार शुल्क तोकेका थिए । चीनमाथि थप १० प्रतिशत तोके । अप्रिल २ २०२५ मा उनले सबै व्यापारिक राष्ट्रमाथि आधारभूत रूपमा १० प्रतिशतले भन्सार बढाउने घोषणा गरे । कतिपय राष्ट्रका लागि ५० प्रतिशतभन्दा माथि शुल्क तोके ।
फेब्रुअरी २० २०२६ मा अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पले कार्यकारी शक्तिको अत्यधिक दुरुपयोग गरेको भन्दै उनको भन्सार नीतिलाई खारेज गरिदियो । अदालतको आदेशपछि उनले छुट्टै कानुन मार्फत व्यापार साझेदार राष्ट्रमाथि १० प्रतिशत अतिरिक्त भन्सार लिए । जुलाई २०२६ मा ६० राष्ट्रमाथि उनले १० देखि १२.५ प्रतिशत भन्सार तोके । उनको भन्सार नीतलाई बेलायत, युरोपेली युनियन र चीनले विरोध जनाउँदै अमेरिकाविरुद्ध मुद्दा दायर गरेका छन् ।
ट्रम्पले भन्सार शुल्कलाई व्यापार सम्झौताका लागि अन्य राष्ट्रलाई बाध्य पार्ने माध्यका रूपमा लिँदै आएका छन् । मायामीमा हुन गइहरेको जी-२० सम्मेलनमा केही नयाँ सम्झौतामा हस्ताक्षरका लागि दबाब बढाउने उद्देश्यले ट्रम्पले यस्तो कदम चालेको हुनसक्ने विश्लेषण भइरहेको बीबीसीले उल्लेख गरेको छ ।






