Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, ९ मंसिर २०८३ । सर्वोच्च अदालतले प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश नहुने चार आधार दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको छलफलपछि बुधबार कार्कीलाई आइजिपीमा फर्काउनुपर्ने माग अस्वीकार गरेको थियो ।

सर्वोच्चले मनोज केसीको प्रहरी महानिरीक्षक पदमा बढुवा भई नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको, देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र अन्तरिम आदेशको मागसँग अन्तर्निहित कानुनी प्रश्नहरू रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण हुने प्रकृतिको देखिएको आधार लिएको छ ।

निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा डा।मनोजकुमार केसी नेपाल सरकारको २०८३ कात्तिक १८ को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी कार्यभार सम्हालिसकेको भन्ने मिसिलबाट देखिएको एउटा आधार सर्वोच्चले लिएको छ ।

अर्को आधार रिटमा प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको भनिएको छ । रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तर्निहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको रहेको तेस्रो आधार दिइएको छ ।

चौथो आधार क्षतिका लागि ‘सुविधा र सन्तुलन’ सरकारको पक्षमा रहेको आदेशमा उल्लेख छ । सर्वोच्चले कार्कीले निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको समेत आदेशमा जनाएको छ ।

तपाईको प्रतिक्रिया