काठमाडौं, ९ मंसिर २०८३ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सरकारको बचाउमा बहस गर्दै महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले प्रहरी प्रमुखको ‘फुली’ लगाइसकेको अवस्थामा निर्णय रोक्न अन्तरिम आदेश जारी गर्न नमिल्ने जिकिर गरेका छन् ।
कडेलले आवश्यकतालाई मध्यनजर गरेर दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको बताए । आईजीपीबाट हटाइएका कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बहस गर्ने क्रममा कडेलले उक्त जिकिर गरेका हुन् ।
‘आवश्यकताको सिद्धान्तअनुसार खटाइएको हो । कार्यकारी अधिकारको प्रयोग गरी निर्णय गरिएको छ । सरकारले प्रहरी कर्मचारीलाई विशेष अवस्थामा खटाउन सक्छ, कुनै कानुनले रोक्दैन,’ महान्यायाधिवक्ता कडेलले बहसमा भने, ‘निर्णयमा कुनै बद्नियत छैन । देशको आवश्यकताका कारण असल नियतले निर्णय भएको छ ।’
अन्तिम निर्णयबाट निर्क्योल हुने विषयमा अन्तरिम आदेशबाटै टुंग्याउन नमिल्ने दाबी महान्यायाधिवक्ताच कडेलको थियो । ‘निर्णय कार्यानवयन भैसकेको अवस्था विद्यमान छ । विश्वराज पोखरेलको मुद्दामा फुली लाएपछि ‘स्टे’ जारी नहुने भन्ने सर्वोच्चको निर्णय नै छ,’ कँडेलले बहसमा भने, ‘प्रथम दृष्टिमा निवेदनको ग्राभिटी र आधार लिएको ऐन र नजिरका आधारमा खारेजभागी छ । अन्तरिम आदेश जारी हुन सक्दैन ।’
कँडेलले कार्कीलाई कारबाही गरेर सल्लाहकारमा लगेको अवस्था नरहेको समेत स्पष्ट पारे । कार्कीलाई कार्यकारीले थप जिम्मेवारी दिएको अवस्था रहेको जिकिर उनको थियो । कँडेलले बहसमा भने, ‘अनुभवको पहिचान भएको छ । सेवाबाट हटाएको वा कारबाही गरेको होइन सुनुवाइको मौका चाहिँदैन । थप जिम्मेवारी दिइएकोमा खुसीमा लड्डु लिएर आउनु पर्ने थियो, झुक्किएर मुद्दा लिएर आउनु भयो ।’
सरकारको निर्णय भए पनि मन्त्रिपरिषद्लाई रिटमा विपक्षी समेत नबनाइएको पनि उनले बताए । सर्वोच्चले विगतमा जसको निर्णय हो उसैलाई विपक्षी नबनाएको अवस्थामा रविप्रताप राणाको रिट खारेज गरेको दृष्टान्त पनि उनले राखे ।
नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले पनि कार्कीलाई आवश्यकताका आधारमा उच्च जिम्मेवारी प्रदान गरिएको बताए । ‘न्यायाधीशलाई पनि उच्च पदमा लैजान सकिन्छ । पूर्वप्रधानन्यायाधीशलाई नै राष्ट्रिय मानवअधिकार आयोगमा लैजाने अभ्यास छ,’ ज्ञवालीको जिकिर थियो, ‘शान्ति सुरक्षा मजबुत गर्नलाई नै प्रधानमन्त्रीको सल्लाहकारमा लगिएको हो । जेनजी आन्दोलन, तत्कालीन प्रधानमन्त्री नै हेलिकोप्टरमा जानुपरेको, सुनसरीको कप्तानगञ्ज घटना नै दृष्टान्त छन् ।’
ज्ञवालीले आईजीपी भन्दा पनि बढी विश्वास गरेर प्रधानमन्त्रीको सल्लाहकारमा पठाइएको दाबी गर्दै केसीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्न नमिल्ने तर्क इजलास समक्ष गरे ।
अहिले पनि महान्यायाधिवक्ता कार्यालयबाट खटिएका सरकारी वकिलको बहस जारी छ । सरकारी वकीलको बहस सकिएपछि कार्कीका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । सर्वोच्चले आजै आदेश दिने तयारी गरेको छ ।
आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएको दाबीसहित सरकारको निर्णय रोक्न माग राखेर कार्की सर्वोच्च पुगेका हुन् । सरकारले कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गर्दै डा। मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गरेको थियो ।






