Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, ९ मंसिर २०८३ । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अध्यावधिक गरेको छ ।

निर्वाचन आयोगको मंगलबार साँझ बसेको बैठकले कार्यसमिति अध्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आयोगले बुधबार मात्रै यससम्बन्धी औपचारिक पत्र नेपाली कांग्रेसलाई पठाएको हो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित २० जना पदाधिकारी र २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

थापा नेतृत्वको कार्यसमितिलाई अध्यावधिक गर्न कांग्रेसका तर्फबाट प्रदीप पौडेलले कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, पार्टीको विधानमा विभिन्न संशोधन गरिएको तथा आवश्यक विवरण पूर्ण रूपमा उपलब्ध नभएकाले अध्यावधिक प्रक्रिया केही ढिलो भएको आयोगले जनाएको छ ।

आयोगले आवश्यक कागजात तथा विवरणको अध्ययन र परीक्षणपछि कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया