बिर्तामोड, ८ मंसिर २०८३ । आइटी खोलेर अनलाइन ठगीलगायतका विभिन्न गैरकानुनी कार्यहरु गरेको आशंकामा प्रहरीले बिर्तामोडको इन्फर्माटेक्स टेक प्रालिको कार्यालयमा छापा मारेको छ ।
त्यस क्रममा सो कार्यालयमा कार्यरत २५ जना महिला र ५ जना पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक हिमाल शम्सेर राईको कमाण्डमा गएको टोलीले आज साँझ बिर्तामोडको शनिश्चरे रोडस्थित सो आईटी कार्यालयमा छापा मारेको थियो ।
पक्राउ परेर इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएका उनीहरुलाई भोलि बिहान १० बजे हाजिर हुने गरी छोडिएको छ । प्रहरीले सो कार्यालयबाट ८३ वटा मोबाइल र २५ वटा ल्यापटप जफत गरेको छ । त्यस कार्यालयका बारेमा गहन अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।






