Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

सुर्खेत, ८ मंसिर २०८३ । आफ्नै छोराको हत्या गरेको कसुरमा दैलेखको नारायण नगरपालिका–९ बासकोटका एक दम्पतीलाई जिल्ला अदालत दैलेखले जन्मकैदको सजाय सुनाएको छ ।

अदालतले ७३ वर्षीय कविराज थापा क्षेत्री र उनकी ६७ वर्षीया श्रीमती पदमकुमारी थापालाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीका अनुसार उनीहरूलाई सोमवार गते अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । साथै मृतकका हकवालालाई प्रतिवादीबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

सूचना अधिकारी भण्डारीका अनुसार उनीहरूले गत जेठ १९ गते आफ्नै ४६ वर्षीय छोरा यादव थापाको हत्या गरेका थिए । नेपालगन्जमा बस्दै आएका यादव पुर्ख्यौली कुलदेवताको पूजा गर्न दैलेखस्थित घर आएका थिए । सोही क्रममा आमा पदमकुमारीसँग घरायसी विषयमा विवाद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार विवादका क्रममा उनका बुबा कविराजले हँसिया प्रहार गर्दा यादवको हत्या भएको थियो । घटनापछि अनुसन्धान गरी मुद्दा अदालतमा पेस गरिएको थियो ।

मृतकको शव परीक्षण प्रतिवेदन र कसुरदारहरूको बयानलाई प्रमाणका रूपमा आधार मानेर जिल्ला अदालत दैलेखले दुवै जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

 

तपाईको प्रतिक्रिया