भद्रपुर, ८ मंसिर २०८३ । अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहरलाई आम्दानीको स्रोत बनाउन सफल भएको छ ।
अस्पतालले पुनः प्रयोग गर्न मिल्ने फोहर छुट्टाएर बिक्री गरी वार्षिक करिब एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार अस्पतालले विगत पाँच वर्षदेखि फोहर व्यवस्थापनबाट नियमित आम्दानी गर्दै आएको हो ।
पुनः प्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहोर छुट्टाएर बिक्री गर्ने गरिएको उनले बताए । “महिनामा रु १२ देखि १५ हजारसम्म आम्दानी हुन्छ । अस्पतालबाट निस्कने कागजजन्य फोहर करिब पाँच क्वीन्टल, प्लास्टिकजन्य फोहर एक क्वीन्टल र आल्मुनियम करिब दुई केजीसम्म बिक्री गर्ने गरेका छौँ”, कुँवरले भने ।
अस्पतालमा स्लाइनका खाली बोतल, पाइप, सिरिन्जलगायतका सामग्री पनि प्रयोगपछि छुट्याइने गरिएको छ । कुहिने र नकुहिने फोहरलाई स्रोतबाटै वर्गीकरण गरी पुनः प्रयोग गर्न मिल्ने सामग्री बिक्रीका लागि छुट्याउने गरिएको उनले बताए । जर्मन सहयोगी संस्था जीआईजेडले फोहोर प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउन आवश्यक मेसिन तथा सामग्री सहयोग गरेपछि अस्पतालमा व्यवस्थित फोहर व्यवस्थापनको अभ्यास सुरु भएको हो ।
अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई भने छुट्टै प्रशोधन गरी सुरक्षित विसर्जन गर्ने गरिएको छ । सङ्क्रमणको जोखिम भएका फोहोरलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी ‘ब्याक्टेरिया’ नष्ट गरेपछि सुरक्षित रूपमा विसर्जन गर्ने गरिएको छ । हाल अस्पतालमा दैनिक औसत एक हजार जनाले बहिरङ्ग सेवा लिँदै आएका छन् ।
बिरामीको चापसँगै दैनिक रूपमा ठूलो परिमाणमा फोहोर उत्सर्जन हुने भए पनि वर्गीकरण, प्रशोधन र पुनः प्रयोगको अभ्यासले फोहोर व्यवस्थापन सहज बनेको कुँवरको भनाइ छ । “पहिले अस्पतालमा फोहोर थुप्रिने समस्या थियो । अहिले फोहोरलाई छुट्टाएर व्यवस्थापन गर्न थालेपछि अस्पताल परिसर सफा राख्न पनि सहज भएको छ,” उनले भने। रासस






