काठमाडौं, ८ मंसिर २०८३ । रोमानियामा तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाएको छ ।
श्रमिकका गुनासो सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरिरहेको सरकारले उनीहरूलाई रोमानिया पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनीमाथि समेत अनुसन्धान थालेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरेर रोमानियामा रहेका श्रमिकका समस्या समाधानको पहल अघि बढाएको हो ।
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिक सम्झौता अनुसार काम, तलब तथा सेवा–सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलनमा छन् ।
उनीहरूले कम्पनी बाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी समेत गर्दै आएका छन् । नेपालबाट रोजगारीका लागि रोमानिया पुगेका उनीहरूले प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन् ।
यति ठूलो रकम खर्च गरेर युरोप पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत समस्या भएको उनीहरूको गुनासो छ ।
नेपालीहरू आन्दोलित बनेपछि श्रम मन्त्रालय र विभागले समस्या समाधानको पहल थालेको हो । त्यसका लागि जर्मनीमा रहेको नेपाली दूतावासमा श्रममन्त्री रामजी यादवले सम्पर्क गरेर समस्याबारे जानकारी लिनुका साथै समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
त्यस्तै विभागलाई समेत नेपालबाट श्रमिक पठाउने म्यानपावर तथा सम्बन्धित एजेन्टमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री यादवले निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार श्रमिकका समस्या सार्वजनिक भएलगत्तै विभागले उनीहरूसँग प्रत्यक्ष सम्पर्क गरेर गुनासो संकलन र सम्बोधनको काम सुरु गरेको थियो ।
ढकालले पीडित श्रमिकसँग सम्पर्क गरेर समस्या बुझेको र त्यसकै आधारमा उनीहरूलाई रोमानिया पठाउने प्रक्रियामा संलग्न भएको आशंका गरिएका म्यानपावर कम्पनीमा अनुगमन गरिएको बताए ।
‘हिजो बेलुकातिर सूचना प्राप्त भएपछि नै हामीले श्रमिकको समस्याप्रति संवेदनशील भएर काम सुरु गरेका हौं,’ उनले भने, ‘पीडित श्रमिकसँग कुरा गरेर केही विषय संकलन गरेपछि आज बिहानै सम्बन्धित म्यानपावरमा अनुगमन गर्न टोली पठायौं ।’
विभागले अनुगमन क्रममा प्राप्त प्रारम्भिक तथ्यका आधारमा थप अनुसन्धान अघि बढाउन अनुसन्धान अधिकृत समेत तोकेको छ । अनुसन्धान क्रममा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन न्यायाधीकरणमा थप अनुमतिका लागि फाइल पठाइसकेको ढकालले बताए ।
उनका अनुसार रोमानियामा समस्यामा परेका श्रमिकलाई पठाउने प्रक्रियामा केही म्यानपावर कम्पनीको संलग्नताबारे विभागले अनुगमन गरिरहेको छ । अन्य कम्पनीमाथि पनि अनुसन्धान जारी रहने उनले बताए ।
व्यक्तिगत श्रम स्वीकृतिमा पठाएर म्यानपावरले चर्को रकम असुलेको आशंका
रोमानियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको मुख्य समस्या व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यानपावर कम्पनीले श्रमिक पठाउने र त्यसबापत चर्को रकम असुल्ने गरेको आशंका विभागको छ ।
रोमानिया गएका श्रमिकले व्यक्तिगत श्रम स्वीकृति लिएको देखिए पनि उनीहरूलाई विदेश पठाउन म्यानपावर कम्पनीले सहजीकरण गरेको हुन सक्ने विभागको प्रारम्भिक बुझाइ छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा जाने श्रमिकलाई सहजीकरण गर्ने नाममा १० लाखभन्दा बढी रकम असुलिएको गुनासो समेत आएको विभागको भनाइ छ । यस्तो रकम असुलीको विषयलाई विभागले अनुसन्धानको दायरामा राखेको छ ।
विभागले म्यानपावर कम्पनीहरूको भूमिका, श्रमिक छनोट तथा भर्ना प्रक्रिया, सेवा शुल्क र रोजगारीका सर्त लगायत विषयमा अनुसन्धान गरिरहेको छ ।
गैरकानुनी रूपमा सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, अनुचित दबाब तथा रोजगारीका सर्तमा अनियमितता भएको पाइए सम्बन्धित संस्था र व्यक्तिमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने विभागले जनाएको छ ।






