Online Bichar
शुक्रबार, कार्तिक २१, २०८३ | Friday, November 6, 2026

मौसम परिवर्तन प्रकृतिको एक नियमित तथा प्राकृतिक प्रक्रिया हो। यद्यपि, मौसम परिवर्तनका क्रममा हुने तापक्रमको तीव्र उतारचढाव, चिसो हावा, वायु प्रदूषण (धुलोधुवाँ) तथा वातावरणीय परिवर्तनले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। विशेषगरी ऋतु परिवर्तन हुने समयमा समुदायमा रुघाखोकी, भाइरल ज्वरो, इन्फ्लुएन्जा, घाँटीको संक्रमण तथा श्वासप्रश्वाससम्बन्धी समस्याहरू महामारीको रूपमा वा बढी मात्रामा देखिने गर्दछन्।

यस्ता स्वास्थ्य समस्याहरू बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम, मधुमेह वा मुटुजस्ता दीर्घरोग भएका व्यक्तिहरूमा छिटो संक्रमण हुने हुँदा बढी जोखिमपूर्ण मानिन्छ।

१. मौसम परिवर्तनसँगै देखिने प्रमुख स्वास्थ्य समस्याहरू

  • सामान्य रुघाखोकी (Common Cold) : नाक बन्द हुने, सिँगान बग्ने र हाच्छ्युँ आउने।
  • इन्फ्लुएन्जा (Influenza) : शरीर दुख्ने, थकान महसुस हुने र उच्च ज्वरो आउने।
  • भाइरल ज्वरो (Viral Fever) : शरीरको तापक्रम अचानक बढ्ने।
  • घाँटी दुख्ने तथा संक्रमणः निदाउन वा खाना निल्न गाह्रो हुने।
  • एलर्जिक राइनाइटिस (Allergic Rhinitis) : धुलो र चिसो मौसमले नाकमा हुने एलर्जी।
  • दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याः वायुमण्डलको चिसोले फोक्सोको नली खुम्चिने समस्या।
  • निमोनिया (Pneumonia) :  विशेष गरी बालबालिका तथा वृद्धवृद्धामा देखिने गम्भीर संक्रमण।

२. मौसमी रोग लाग्नुका प्रमुख कारणहरू

  • संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क हुनु वा एकैठाउँमा लामो समय बस्नु।
  • खोक्दा वा हाच्छ्युँ गर्दा हावामा फैलिने संक्रमित थोपा (Droplets) मार्फत सर्ने।
  • व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा कमी हुनु।
  • बन्द कोठामा वा हावाको आवतजावत (Ventilation) कम हुने ठाउँमा धेरै मानिस बस्नु।
  • धुलोधुवाँ, तुवाँलो तथा वायु प्रदूषणको सम्पर्कमा रहनु।
  • कुपोषण वा कमजोर रोग प्रतिरोधात्मक क्षमता (Immunity) का कारण संक्रमण सहजै हुनु।

३. रुघाखोकी तथा मौसमी रोगबाट बच्ने जनस्वास्थ्यका उपायहरू

क. व्यक्तिगत सरसफाइः
साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म नियमित रूपमा हात धुने। खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनाको भित्री भाग वा रुमालले मुख तथा नाक राम्ररी छोप्ने। रुघाखोकी लागेका व्यक्तिले वा भिडभाडमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्ने।
ख. स्वस्थ जीवनशैलीः
मौसमी फलफूल, हरिया सागसब्जीसहितको सन्तुलित तथा पोषणयुक्त खाना खाने। शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा मनतातो पानी, सुप तथा झोलिलो पदार्थ सेवन गर्ने। रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित हल्का शारीरिक व्यायाम वा योग गर्ने। दैनिक ७ देखि ८ घण्टासम्मको पर्याप्त निद्रा तथा मानसिक विश्राम लिने।
ग. वातावरणीय सरसफाइः
घर, कार्यालय तथा कार्यस्थल सफਾ राख्ने र घाम लाग्न दिने। कोठाभित्र ताजा हावाको आवतजावत राम्रो हुने व्यवस्था मिलाउने। बिहान वा बेलुका अत्यधिक चिसो बढेको समयमा वा वायु प्रदूषण अत्यधिक हुँदा अनावश्यक रूपमा बाहिर ननिस्कने।
घ. खोप तथा स्वास्थ्य सेवाः
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकालाई नियमित खोपहरू समयमै लगाउने। उच्च जोखिममा रहेका व्यक्तिहरूले चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिएर मौसमी इन्फ्लुएन्जाविरुद्धको खोप (Flu Vaccine) लगाउने। कुनै पनि लक्षण देखिनासाथ हेलचेक्याइँ नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।

४. रोग लागिसकेपछि अपनाउनुपर्ने सावधानी

  • शरीरलाई पूर्ण रूपमा आराम दिने र धेरै श्रम नगर्ने।
  • मनतातो पानी पिउने, बाफ लिने र नुनपानीले कुल्ला गर्ने।
  • यो संक्रमण घरका अन्य सदस्यमा, विशेषगरी बालबालिका र वृद्धवृद्धामा फैलिन नदिन विशेष सावधानी अपनाउने।
  • चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्शबिना कुनै पनि एन्टिबायोटिक (Antibiotic) वा कडा औषधि आफैँ किनेर सेवन नगर्ने।

५. गम्भीर जोखिमका संकेतहरू (खतराका लक्षणहरू) : निम्न लक्षणहरू देखिएमा घरमा नबसी तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानुपर्छः

  • सास फेर्न गाह्रो हुनु वा स्वाँ–स्वाँ हुनु।
  • छाती दुख्नु वा छिटोछिटो सास चल्नु।
  • लगातार उच्च ज्वरो आइरहनु र घरेलु उपायले निको नहुनु ।
  • अत्यधिक कमजोरी महसुस हुनु वा बेहोसीपना देखिनु ।
  • बालबालिकाले आमाको दूध वा कुनै पनि झोल पदार्थ खान नसक्नु तथा असामान्य रूपमा झोक्राउनु/सुस्त हुनु ।

६. जनस्वास्थ्यकर्मी तथा सरोकारवालाको भूमिका

मौसमी रोगको रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको भूमिका अग्रणि हुन्छ। समुदायस्तरमा स्वास्थ्य शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने, सरसफाइको महत्व बुझाउने, जोखिममा रहेका वर्गको पहिचान गरी विशेष निगरानी राख्ने, खोप तथा स्वास्थ्य सेवाको पहुँच बढाउने र जटिल बिरामीलाई समयमै उचित स्वास्थ्य संस्थामा Refer गर्ने कार्यलाई प्रभावकारी बनाउनुपर्छ ।

मौसम परिवर्तन आफैँमा कुनै रोग होइन, तर यसले ल्याउने वातावरणीय फेरबदलले संक्रमणको जोखिम भने अवश्य बढाउँछ। व्यक्तिगत सरसफाइ, सुरक्षित र स्वच्छ वातावरण, सन्तुलित खानपान, समयमै खोप तथा स्वास्थ्य सचेतना अपनाउन सकेमा मौसमी रोगहरूको प्रकोपबाट सहजै बच्न सकिन्छ ।
“रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जनस्वास्थ्यको सबैभन्दा महत्वपूर्ण सिद्धान्त हो ।”
सुमन खतिवडा –जनस्वास्थ्यकर्मी

तपाईको प्रतिक्रिया