Online Bichar
शनिबार, कार्तिक २२, २०८३ | Saturday, November 7, 2026

झापा, २० कार्तिक २०८३ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले २३ लाख मूल्य बढीको पटका बरामद गरी नष्ट पारेको छ ।

आगामी चाडपर्वलाई सुरक्षित, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा तथा मातहतका युनिटबाट खटिएका चेकिङ टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध रुपमा भित्र्याइएका पटका तथा आतिसबाजीजन्य सामग्रीहरू नष्ट गरिएको हो ।

तिहार तथा छठ पर्वको समयमा पटका तथा आतिसबाजीको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति, ध्वनि तथा वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध रूपमा ओसारपसार तथा बिक्री वितरण गरिने यस्ता सामग्री नियन्त्रण गर्ने कार्यलाई गण तथा मातहतका युनिटहरूले प्राथमिकताका साथ अगाडि बढाउँदै आएका छन्

पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले यस्ता सामग्रीको प्रयोग नगर्न सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण झापाले सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, झापाको प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया