Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

गौरादह, २३ वैशाख । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रबाट नेकपा मओवादी केन्द्रका युवा नेताहरुले विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

पर्याप्त मात्रामा निशुल्क कोरोना परीक्षणको दर बढाइनुपर्ने, अतिबिपन्न र बिपन्नलाई तत्काल खाद्यान्न राहत उपलब्ध गराइनुपर्ने, । संक्रमित भएर होम आइसोलेसनमा रहेका बिपन्न नागरिकहरुलाई पोषणको ब्यवस्था सहित उपचार खर्चको ब्यवस्था गरिनु पर्ने, अबिलम्ब कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याइनु पर्ने लगाएतका विषयमा तीन तहकै सरकारको विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका हुन् ।

सो विज्ञप्तिमा माओवादी केन्द्रका झापा जिल्ल सचिवालय सदस्य पुष्पलाल ढकाल, माओवादी केन्द्रकै गौरीगञ्ज गाउँ समिति अध्यक्ष विद्यानन्दसिंह राजवंशी तथा गौरादह नगर समितिका सचिव माधव भट्टराईद्वारा संयुक्तरुपमा हस्ताक्षर गरिएको छ ।

विज्ञप्तिमा झापाको निर्वाचन क्षेत्र नं. ५ को गौरीगञ्ज गाउँपालिका भारतको बिहार प्रान्त संग खुल्ला सिमना जोडिएको पालिका भएको कारण सो क्षेत्र संक्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै नयाँ भेरिएण्ट सहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमणले आक्रान्त नागरिकको जनजीवनको विषयमा बिभिन्न सुझाब सहितको विज्ञप्ति बिहिबार सार्बजनिक गरिएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विज्ञप्तिको पूर्णपाठ
आदरणीय बुवा आमा दाजु भाइ तथा दिदी बहिनीहरु
कोरोना भाइरस (कोभिड–१९) कोे दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ । यस संक्रामक नयाँ भेरिएण्ट सहितको भाइरसको दोस्रो लहरका कारण निधन भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भाइरसबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवम् तीब्र संक्रामकका रुपमा देखिएको छ । छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सीमा रहेको हाम्रो देशको स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको छ ।
भारतको विहार संग खुल्ला सिमना जोडिएको झापा जिल्लाको पश्चिम दक्षिणमा अवस्थित गौरीगञ्ज गाउँपालिका, त्यसैगरी गौरादह नगरपालिका र कमल गाउँपालिका पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका छन् । सिमावर्ती गौरीगञ्ज क्षेत्रमा वारीपारी गर्नेको संख्यामा केही कमी भए पनि रोकिएको छैन ।

गौरादह नगरपालिकामा संकास्पद बिरामीहरुले कोरोना परीक्षण गर्न चाहदा नगरपालिका स्वास्थ्य शाखासंग भिटिएम तथा एनटिजिन किटको जोहो छैन । आर्थिक पहुँच हुनेहरु निजि अस्पतालबाट दुई हजार तिरेर पिसिआर परीक्षण र एनटिजिन परीक्षण गराउदैछन् तर आर्थिक अवस्था कमजोर हुनेहरु स्वास्थ्य परीक्षण गराउन समेत नसकेर भित्रभित्रै महामारीको सिकार हुन बाध्य छन् ।

नागरिकको स्वास्थ्य जस्तो आधारभूत बिषयमा पनि स्थानीय सरकार तथा सरोकारवालाहरु संवेदनशिल नदेखिएकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । अबिलम्ब पालिकाहरुले नगरिकहरुको निशुल्क कोरोना परीक्षणको वातावरण बनाइनु पर्दछ । संक्रमित भएर होम आइसोलेसनमा रहेका नागरिकहरुलाई पोषणको ब्यवस्था गरिनु पर्दछ । नेपाल सरकारले निर्देशन गरेर बजेट बिनियोजन समेत गरिदिएको कोभिड–१९ अस्थायी अस्पताल पालिकाहरुले अबिलम्ब सञ्चालनमा ल्याइनुपर्दछ ।

स्वास्थ्य सेवा प्रभावकारी बनाई अति बिपन्न, बिपन्न, मजदुर, सुकुम्वासी, श्रमिक, किसान जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा स्थानीय सरकार तथा प्रदेश र संघीय सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले गर्दा नागरिकले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने आशंका बढाएको छ ।

हामी तीन तहकौ सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछौँ । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग समेत अपील गर्दछौँ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा पार्टीका हामी नेता, कार्यकर्ता र सदस्यहरु हामी सबै स्वयम्सेवीका रुपमा यस महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक लड्न सक्रिय रहन अपिल समेत गर्दछौं ।
सम्पूर्ण जनसमुदायमा कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन र लकडाउनको पूर्ण पालना गर्न विशेष अनुरोध समेत गर्दछौँ ।

तपाईको प्रतिक्रिया