Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

 

दमकः÷ साहित्य र सृजनालाई प्रविधिसँग जोड्दै झापाको दमकबाट नयाँ अभियानको थालनी भएको छ।  ‘कला र साहित्यको लागि हाम्रो प्रयास’ भन्ने  उद्घोषसहित स्रष्टा र प्रविधिज्ञ एक ठाउँ भएका हुन्। सूचना प्रविधिको पहुँचमा साहित्यिक सृजनाको पहुँच कम भइरहेका बेला सर्जकहरूलाई कृति अनलाइनले साथ दिएको छ। कृतिका सञ्चालकहरू दिदश गजुरेल र महेश भण्डारी दमकको साहित्यिक माहोललाई सूचना प्रविधिमार्फत् विश्वव्यापी सञ्जालमा जोड्ने प्रयासमा लागेका हुन्। यसबाट साहित्यकार तथा सर्जकहरू पनि उत्साहित भएका छन्।  यस अभियानअन्तर्गत प्राविधिक र साहित्यकारहरू विभिन्न पर्यटकीय क्षेत्रहरूमा पुग्ने गरेका छन्। सोही स्थानमा साहित्यिक रचनाहरू छायांकन गरी युट्युव च्यानलमा अपलोड गर्ने गरिएको छ। यसबाट सर्जकहरूलाई सूचना प्रविधिको माध्यमबाट विश्वव्यापी पहुँच स्थापित गर्न सघाउ पुग्ने अभियानका एक अगुवा लोकेन्द्र बञ्जाराले बताए। हालसम्म चार चरणमा रचना छायांकन सकिएको उनले जानकारी दिए।  पर्यटन प्रवर्द्धन र रोयल्टी पनि साहित्यकारहरूले वाचन गरेका रचनालाई युट्युव च्यानलमा अपलोड गरेपछि यसले आम्दानीको आधार पनि तयार पारेको छ। भ्युजका आधारमा सम्बन्धित सर्जकलाई रोयल्टीको पनि व्यवस्था गरिएको अर्का अभियन्ता राजकुमार अनिश्चितले बताए। यसले गर्दा सिर्जना प्रोत्साहनसँगै आर्थिक रूपमा साहित्यकारहरूलाई सहयोग पुग्ने आशा गरिएको उनको भनाइ छ। यससँगै रचना छायांकनका लागि विभिन्न पर्यटकीय स्थलहरूमा जाने भएकाले ती स्थानको पनि रचनासँगै प्रवर्द्धन हुने गरेको छ। यस  अभियानले साहित्य, प्रविधि र पर्यटनलाई एक ठाउँमा ल्याएको बञ्जाराले बताए।  अभियानका क्रममा हालसम्म २० स्रष्टाका ५० रचना छायांकन गरिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments